अत्तरिया : सुकुम्बासी समुदायको समस्या समाधान गर्न माग गर्दै गोदावरी नगरपालिका अत्तरियामा विरोध प्रदर्शन गरिएको छ। मोहन वैद्य नेतृत्वको क्रान्तिकारी पार्टी नेपाल निकट क्रान्तिकारी सुकुम्बासी संघ को २ नम्बर ब्युरोको आयोजनामा नाराजुलुससहित कोणसभा सम्पन्न भएको हो।
प्रदर्शनकारीहरूले सुकुम्बासीमाथिको दमन बन्द गर्न, आवास अधिकार सुनिश्चित गर्न, स्वास्थ्य, शिक्षा र रोजगारीको ग्यारेन्टी गर्न सरकारसँग माग गरेका छन्। उनीहरूले सुकुम्बासी बस्तीमा डोजर चलाउने कार्य तत्काल रोक्नुपर्ने भन्दै राज्यको ध्यानाकर्षण गराएका थिए।
कोणसभालाई संघका उपाध्यक्ष टंक कोइराला, ब्युरो इन्चार्ज लाल बहादुर जाग्री तथा सदस्य राम बहादुर धामी लगायतले सम्बोधन गरेका थिए।
वक्ताहरूले “अल्गोरिदम खरिद गरेर जितेको पार्टीले सुकुम्बासीको उठिबास गरिरहेको” आरोप लगाउँदै वास्तविक भूमिहीन र विपन्न नागरिकको अधिकार संरक्षण गर्न सरकार गम्भीर हुनुपर्ने बताएका छन्। उनीहरूले सुकुम्बासी समस्या न्यायोचित ढंगले समाधान नभए थप सशक्त संघर्षका कार्यक्रम अघि बढाइने चेतावनी दिएका छन्।
प्रदर्शनका क्रममा सहभागीहरूले “झुपडीमा डोजर चलाउन बन्द गर”, “सुकुम्बासीलाई आवासको ग्यारेन्टी गर” जस्ता नारासमेत लगाएका थिए।