बहुमत जुटाएर हटाउन आफ्नै दलका सांसदलाई मुख्यमन्त्री शाहको चुनौती

धनगढी  : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नै दल नेपाली कांग्रेसभित्र बढ्दो असन्तुष्टिबीच आफूलाई हटाउन चाहने सांसदलाई संसदीय दलमै बहुमत पुर्‍याएर देखाउन चुनौती दिएका छन्।

शुक्रबार मुख्यमन्त्री निवासमा भएको भेटवार्तामा कांग्रेस प्रदेश सभा सदस्य दिवानसिंह विष्टले शाहलाई संसदीय दलको नेता र मुख्यमन्त्री दुवै पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए। तर जवाफमा शाहले दलभित्र आफ्नाविरुद्ध स्पष्ट बहुमत जुटे आफू तत्काल हट्न तयार रहेको बताएका हुन्।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा नेपाली कांग्रेसका १८ सांसद छन्। संसदीय दलको नेताबाट शाहलाई हटाउन कम्तीमा १० सांसदको समर्थन आवश्यक पर्छ। शाहविरुद्ध हालसम्म आठ जना सांसद एकजुट भएको दाबी गरिएको छ भने बाँकी सांसदसँग पनि छलफल जारी रहेको विष्टले बताए।

यद्यपि, दलभित्रको विवादले पार्टीलाई नकारात्मक सन्देश जान सक्ने भन्दै विष्टले शाहलाई स्वेच्छिक रूपमा पदत्याग गर्न आग्रह गरेका थिए।

सुदूरपश्चिम कांग्रेसमा नेतृत्व परिवर्तनको बहस पछिल्लो समय तीव्र बन्दै गएको छ। अदालतले विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापालाई सभापतिमा निरन्तरता दिने फैसला गरेपछि प्रदेश सरकार नेतृत्वविरुद्ध असन्तुष्ट समूह थप सक्रिय बनेको हो। दिवानसिंह विष्ट, पदम शाहीलगायत सांसदले शाहविरुद्ध अभियान चलाइरहेका छन्।

तर केही दिनअघि धनगढीमा आयोजित पार्टीको प्रदेशस्तरीय भेलामा नेता गगन थापाले सबै सांसदलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरेपछि असन्तुष्ट समूह केही समय शान्त देखिएको थियो। पछिल्लो पटक मुख्यमन्त्री शाह देउवा पक्षीय भेलामा सहभागी भएपछि भने उनलाई हटाउनुपर्ने आवाज फेरि चर्किन थालेको छ।

दलभित्रको यो शक्ति संघर्षले सुदूरपश्चिम कांग्रेसको आन्तरिक राजनीति थप पेचिलो बनेको राजनीतिक वृत्तमा चर्चा छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.