फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला यही वर्ष ठेक्का प्रक्रिया सुरु हुने

धनगढी  : धनगढीबमे बहुप्रतीक्षित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेलग्राम निर्माण प्रक्रिया आगामी आर्थिक वर्ष २०८३-८४ बाट औपचारिक रूपमा अघि बढ्ने भएको छ।

संघीय सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणका लागि बजेट विनियोजन गर्दै यही वर्ष ठेक्का प्रक्रिया सुरु गर्ने घोषणा गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा बजेट प्रस्तुत गर्दै क्रिकेटको सहरका रूपमा परिचित धनगढीस्थित फाप्लामा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशालासँगै दुई हजार दर्शक क्षमताको आधुनिक इनडोर मल्टिपर्पस स्टेडियम निर्माण गरिने जानकारी दिएका हुन्।

सरकारले इनडोर मल्टिपर्पस स्टेडियम तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसमेत निर्धारण गरेको छ। बजेट घोषणासँगै लामो समयदेखि चर्चामा रहेको फाप्ला परियोजनाले अब निर्माणको वास्तविक चरणमा प्रवेश गर्ने निश्चित भएको छ।

फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिले वर्षौँदेखि आवश्यक कानुनी, नीतिगत र प्राविधिक प्रक्रिया पूरा गर्दै परियोजनालाई कार्यान्वयनको अवस्थासम्म पुर्‍याएको थियो। समितिका अध्यक्ष सुवास शाहीका अनुसार २०६६ सालदेखि सुरु भएको फाप्ला अभियानअन्तर्गत मैदान सम्याउने, पिच निर्माण, सडक विस्तार, विद्युत तथा खानेपानी पहुँच विस्तारलगायतका आधारभूत पूर्वाधार निर्माणका काम सम्पन्न भइसकेका छन्।

धनगढी क्रिकेट लिग ९डीसीएल०, धनगढी प्रिमियर लिग (डीपीएल) तथा नेपाल प्रिमियर लिग (एनपीएल) जस्ता प्रतिष्ठित प्रतियोगिताले फाप्लालाई राष्ट्रिय क्रिकेटको प्रमुख गन्तव्यका रूपमा स्थापित गरिसकेका छन्।

‘ड्रिम फाप्ला’ अभियानमार्फत गठन भएको समितिले साढे ३८ बिघा जग्गासम्बन्धी कानुनी जटिलता समाधान गर्नुका साथै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर), वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) लगायतका सम्पूर्ण प्रक्रिया पूरा गरी आयोजनालाई राष्ट्रिय आयोजना बैंकमा समावेश गराउन सफल भएको थियो।

अब फाप्लामा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला, अत्याधुनिक इनडोर स्टेडियम र अन्य खेल पूर्वाधार निर्माण हुने भएपछि यसले खेलकुद क्षेत्रसँगै पर्यटन, व्यापार, रोजगारी तथा समग्र आर्थिक गतिविधिमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ। सुदूरपश्चिमको विकासमा ‘गेम चेन्जर’ परियोजनाका रूपमा हेरिएको फाप्लाले प्रदेशलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल नक्सामा थप मजबुत रूपमा स्थापित गर्ने विश्वास गरिएको छ।

बजेटमार्फत निर्माण प्रक्रिया सुनिश्चित भएपछि अध्यक्ष शाहीले सरकारप्रति आभार व्यक्त गर्दै सुदूरपश्चिमवासीको दशकौँदेखिको सपना पूरा हुने दिशामा महत्वपूर्ण उपलब्धि हासिल भएको बताएका छन्। फाप्लाको भौतिक निर्माण सुरु हुने निश्चितताले सम्पूर्ण सुदूरपश्चिममा नयाँ उत्साह र आशा थपिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.