जयपृथ्वी नगरपालिकाका शिक्षकलाई एकीकृत पाठ्यक्रम सम्बन्धी पाँच दिने आधारभूत तालिम सुरु
शिक्षण सिकाइलाई प्रभावकारी बनाउने, विद्यार्थी मूल्याङ्कन प्रणाली सुधार गर्ने र शिक्षकको पेशागत क्षमता अभिवृद्धि गर्ने उद्देश्य
जगदीश रोकाया
बझाङ, २९ जेठ : जयपृथ्वी नगरपालिकाभित्रका आधारभूत तहका विद्यालयमा कार्यरत शिक्षकहरूका लागि एकीकृत पाठ्यक्रम सम्बन्धी पाँच दिने आधारभूत तालिम शुक्रबारदेखि सदरमुकाम चैनपुरमा सुरु भएको छ।
प्रगतिशील युवा समाज र वल्र्ड भिजन इन्टरनेश्नलको सहकार्यमा सञ्चालित ‘एकीकृत विकासका लागि हातेमालो परियोजना’ अन्तर्गत तालिम आयोजना गरिएको हो। तालिममा नगरपालिकाभित्रका ३२ विद्यालयबाट एक–एक जना शिक्षकको सहभागिता रहेको छ।
जिल्ला समन्वय समितिको सभाहलमा आयोजित उद्घाटन कार्यक्रममा प्रगतिशील युवा समाजका अध्यक्ष रमेश केसीको अध्यक्षता रहेको थियो। कार्यक्रममा परियोजनाका कार्यक्रम व्यवस्थापक यज्ञराज जोशी ले तालिमको उद्देश्य, आवश्यकता र अपेक्षित उपलब्धिबारे जानकारी गराएका थिए।
कार्यक्रम व्यवस्थापक जोशीका अनुसार नेपाल सरकारले पनि शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम प्रदान गर्ने नीति लिएको छ। त्यसलाई थप प्रभावकारी बनाउँदै विद्यालय तहको पठनपाठन प्रणालीमा सुधार ल्याउने, शिक्षण सिकाइ प्रक्रियामा एकरूपता कायम गर्ने तथा विद्यार्थी मूल्याङ्कन पद्धतिलाई व्यवस्थित बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो।
उनले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि गरी कक्षाकोठामा गुणस्तरीय शिक्षण अभ्यास विकास गर्न यस्ता कार्यक्रम आवश्यक रहेको बताए। पाँच दिने तालिमपछि सहभागी शिक्षकहरूमा एकीकृत पाठ्यक्रमबारे स्पष्ट ज्ञान र सीप विकास भई विद्यालयमा नयाँ तथा प्रभावकारी शिक्षण अभ्यास लागू हुने विश्वास व्यक्त गरिएको छ।
तालिममा प्रशिक्षकका रूपमा मीनबहादुर शाही सहित दुई जना स्रोतव्यक्तिको सहभागिता रहेको छ। प्रगतिशील युवा समाजले वर्ल्ड भिजन इन्टरनेसनलको साझेदारीमा जयपृथ्वी नगरपालिका र केदारस्युँ गाउँपालिकामा बाल स्पोन्सरशिप कार्यक्रम सञ्चालन गर्दै आएको छ। संस्थाले बालबालिकाको सशक्तीकरण, शैक्षिक गुणस्तर सुधार, विद्यालय पूर्वाधार विकास तथा समुदायस्तरमा जनचेतना अभिवृद्धिका क्षेत्रमा निरन्तर काम गर्दै आएको जनाएको छ।
अध्यक्ष रमेश केसीले यस्ता तालिमबाट शिक्षकहरूको क्षमता वृद्धि भई विद्यार्थीको सिकाइ उपलब्धि, अध्ययन शैली र विद्यालय व्यवस्थापनमा सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गरे। उनले विगतमा पनि शिक्षक, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, बालक्लबका सदस्य तथा विद्यार्थीहरूलाई विभिन्न क्षमता विकाससम्बन्धी तालिम प्रदान गरिएको जानकारी दिए।
संस्थाले अध्ययन शिविर सञ्चालन, शैक्षिक सामग्री निर्माण तथा प्रयोगसम्बन्धी तालिम, कक्षाकोठा व्यवस्थापन, आईसीटी ल्याब स्थापना, सूचना प्रविधि शिक्षा तालिम, विद्यालय सुधार योजना निर्माण, शैक्षिक सामग्री वितरण, विद्यालय भवन तथा शौचालय निर्माणलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ। साथै भूकम्पबाट क्षति पुगेका विद्यालयहरूको पुनर्निर्माणमा समेत सहयोग पुर्याएको जनाएको छ।
शिक्षा क्षेत्रको गुणस्तरीय विकास र बालबालिकाको उज्ज्वल भविष्य निर्माणका लागि स्थानीय तहसँग सहकार्य गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिइने संस्थाले जनाएको छ।