२३ दिनपछि टेबुल भयो सुदूरपश्चिमको बजेट

अत्तरिया  : सुदूरपश्चिम प्रदेश सरकारले बजेट प्रस्तुत गरेको २३ दिनपछि प्रदेश सभामा ‘टेबुल’ गरेको छ। आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले मंगलबार बसेको बैठकमा बजेट, अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक तथा आर्थिक वर्ष ०८३र८४ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा बनेको विधेयक टेबुल गरेका छन् ।

बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले महालेखा परीक्षकको प्रतिवेदन, थारू आयोग, मधेशी आयोग र मुस्लिम आयोगको प्रतिवेदन पेस गरे ।प्रदेश सभामा बजेट टेबुल भए पनि बजेटमाथिको छलफल भने अनिश्चित नै छ । बजेट र त्यससँग सम्बन्धित विधेयक तथा प्रतिवेदन पेस भएपछि सभामुख भीमबहादुर भण्डारीले प्रदेश सभा बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरे।

मन्त्री धामीले गत १ असारको मध्यराति ३७ अर्ब ७० करोडको बजेट प्रदेश सभामा प्रस्तुत गरेका थिए। बजेट प्रस्तुत भएलगत्तै बजेट तथा अर्थ र विनियोजन विधेयक संसदमा टेबुल गर्ने अभ्यास रहे पनि २३ दिनपछि टेबुल गरिएको हो।संविधानअनुसार प्रदेश सरकारले प्रस्तुत गरेको बजेट असार मसान्तभित्र प्रदेश सभाबाट पारित भइसक्नुपर्छ । तर सत्तारूढ दलमै बजेटको तीव्र विरोध भएकाले सदनमा बजेटमाथिको छलफल अझै अनिश्चित छ। सत्ता साझेदार नेकपा एमाले संसदीय दलको बैठकले बजेटमाथि संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय यसअघि नै गरेको छ । यसअघि बजेट टेबुल नभएकाले संशोधन प्रस्ताव दर्ता गर्न नसकिएको एमालेले जनाएको छ ।

सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसभित्रै पनि बजेटमाथि तीव्र असन्तुष्टि देखिएपछि मुख्यमन्त्री कमलबहादुर शाह अप्ठ्यारोमा परेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.