अत्तरिया उद्योग वाणिज्य संघको निर्वाचन : कमल कडायत नेतृत्वको प्यानल घोषणा
व्यवसायीको हकहित, सुशासन र संस्थागत सुधारलाई मुख्य एजेन्डा
अत्तरिया : अत्तरिया उद्योग वाणिज्य संघको यहि असार २७ र २८ गते हुने साधारण सभा तथा निर्वाचनलाई लक्षित गर्दै अध्यक्ष पदका उम्मेदवार कमल कडायत नेतृत्वको प्यानलले आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेको छ।
बुधबार अत्तरियामा आयोजित पत्रकार सम्मेलन मार्फत कडायत नेतृत्वको प्यानलले कुनै पनि राजनीतिक दलको प्रभावबाट मुक्त, शुद्ध व्यवसायीहरूको साझा टोलीका रूपमा निर्वाचनमा प्रतिस्पर्धा गर्ने घोषणा गरेको हो। प्यानलले व्यवसायीको हकहित, संस्थागत सुशासन, पारदर्शिता र व्यवसायमैत्री वातावरण निर्माणलाई आफ्नो प्रमुख प्रतिबद्धता बनाएको जनाएको छ।
प्यानलले अध्यक्षमा कमल कडायत, वरिष्ठ उपाध्यक्षमा धना देवी चोखाल, वस्तुगत उपाध्यक्षमा बासुदेव पन्त, वाणिज्य उपाध्यक्षमा गणेश बहादुर बोगटी, महासचिवमा गम्भीर साउँद, सचिवमा धिरेन्द्र बोहरा, कोषाध्यक्षमा बालकृष्ण ओझा तथा सदस्यहरूमा घनश्याम जोशी, शेखर पनेरु, डिल्लीराज ओझा र चन्द्रसिंह धामीलाई उम्मेदवार बनाएको छ। अध्यक्षका उम्मेदवार कमल कडायत यसअघि संघको उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका अनुभवी व्यवसायी हुन्।
संघमा हाल १ हजार २४ जना सदस्य रहेको जनाइएको छ। यस्तै पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको घोषणापत्रमा व्यवसायीका कानुनी तथा प्रशासनिक समस्या समाधानका लागी विशेष पहल गरिने उल्लेख गरिएको छ। व्यवसायीहरू विपद् वा आकस्मिक समस्यामा पर्दा संस्थागत रूपमा सहयोग उपलब्ध गराउने उद्देश्यले विपद् व्यवस्थापन कोष स्थापना गरी सञ्चालन गर्ने, व्यवसायीहरूको बीमा सम्बन्धी सचेतना र पहुँच विस्तार गर्ने तथा नयाँ र ऊर्जाशील युवा व्यवसायीलाई व्यवसाय विस्तारमा सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
त्यसैगरी, समयानुकूल रूपमा संघको विधान संशोधन तथा परिमार्जन गरी व्यवसायीमैत्री बनाइने, व्यवसायीहरूले लामो समयदेखि उठाउँदै आएका समस्याको समाधानका लागि सदस्यहरूको सुझाव अनुसार आवश्यक व्यवस्था गरिने जनाइएको छ। घोषणापत्रमा बैंक तथा वित्तीय संस्था, कर कार्यालय, बीमा कम्पनीलगायत सम्बन्धित निकायसँग समन्वय र सहकार्य गर्दै व्यवसायीका समस्या समाधानका लागि प्रभावकारी पहल गरिने उल्लेख छ। साथै व्यापार तथा व्यवसाय प्रवर्द्धनका लागी स्थानीय, प्रदेश र संघीय सरकार तथा विभिन्न संघ–संस्थासँग सहकार्य गरी व्यवसायमैत्री वातावरण निर्माण गर्ने प्रतिबद्धता पनि प्यानलले व्यक्त गरेको छ।
निर्वाचन नजिकिँदै जाँदा अत्तरिया उद्योग वाणिज्य संघको नेतृत्वका लागि चुनावी गतिविधि तीव्र बन्दै गएको छ। विभिन्न पक्षले आफ्ना एजेन्डा सार्वजनिक गरिरहेका बेला कमल कडायत नेतृत्वको प्यानलले व्यवसायीको साझा हित, संस्थागत सुधार र पारदर्शी नेतृत्वलाई केन्द्रमा राखेर चुनावी अभियान अघि बढाएको जनाएको छ।