अत्तरिया : कैलालीको चुरे गाउँपालिका वडा नम्बर ६ ले कृषि उत्पादन वृद्धि तथा कृषकलाई आधुनिक कृषि प्रविधिसँग जोड्ने उद्देश्यले विभिन्न कृषि उपकरण वितरण गरेको छ।
वडाध्यक्ष प्रेम साउदका अनुसार वडाले १८ जना कृषकलाई आवश्यक कृषि उपकरण उपलब्ध गराएको हो। वितरण गरिएका उपकरणमध्ये ९ जनालाई मिनिटेलर, ५ जनालाई कम्बाइन राइस मिल, ३ जनालाई पानी तान्ने मोटर तथा १ जनालाई दाना बनाउने मेसिन प्रदान गरिएको छ।
वडाध्यक्ष साउदले कृषि क्षेत्रमा यान्त्रिकीकरणलाई प्राथमिकता दिँदै कृषकको उत्पादन लागत घटाउने, श्रमको अभाव न्यूनीकरण गर्ने तथा उत्पादन वृद्धि गर्ने लक्ष्यका साथ उपकरण वितरण गरिएको बताए। उनले आधुनिक कृषि उपकरणको प्रयोगबाट कृषकको आयआर्जनमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे।
स्थानीय कृषकहरूले वडाको यस सहयोगले खेतीपातीलाई सहज, छिटो र प्रभावकारी बनाउन ठूलो टेवा पुग्ने बताएका छन्। आगामी दिनमा पनि कृषि क्षेत्रलाई थप व्यवस्थित र व्यवसायिक बनाउन आवश्यक कार्यक्रम तथा सहयोगलाई निरन्तरता दिइने वडा कार्यालयले जनाएको छ ।