सुदूरपश्चिमको बजेट विवाद समाधानका लागि केन्द्रको सक्रियता, मुख्यमन्त्री शाह र महामन्त्री पौडेलबीच छलफल
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारको बजेटलाई लिएर सत्तारुढ गठबन्धनभित्र देखिएको विवाद समाधानका लागि केन्द्रस्तरबाट सक्रिय पहल सुरु भएको छ। यसैक्रममा बुधबार सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह र नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलबीच धनगढीस्थित मुख्यमन्त्री निवासमा महत्वपूर्ण भेटवार्ता भएको छ।
भेटमा प्रदेशको समसामयिक राजनीतिक अवस्था, बजेट कार्यान्वयनमा देखिएको चुनौती तथा सत्तारुढ दलभित्र उत्पन्न असन्तुष्टिलाई सहजीकरण गर्ने विषयमा विस्तृत छलफल भएको स्रोतले जनाएको छ। विशेषगरी प्रदेश सरकारले सार्वजनिक गरेको बजेटप्रति गठबन्धनकै केही प्रदेशसभा सदस्यले असन्तुष्टि जनाएपछि उत्पन्न राजनीतिक परिस्थितिबारे दुवै नेताबीच गम्भीर संवाद भएको बताइएको छ।
बजेट विवादको वस्तुस्थिति बुझ्न नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल र नेकपा एमालेका नेता डा. पुष्प कँडेल बुधबार बिहान धनगढी पुगेका हुन्। उनीहरूले आ–आफ्ना दलका प्रदेशस्तरीय नेता तथा प्रदेशसभा सदस्यहरूसँग छुट्टाछुट्टै छलफल गर्दै असन्तुष्टिका कारण, वर्तमान अवस्था र समाधानका सम्भावित विकल्पबारे जानकारी लिइरहेका छन्।
स्रोतका अनुसार केन्द्रबाट सुरु भएको राजनीतिक पहलले प्रदेशमा देखिएको बजेट विवाद समाधानतर्फ सकारात्मक वातावरण सिर्जना हुने अपेक्षा गरिएको छ। सत्ता गठबन्धनभित्र संवाद र सहमतिमार्फत निकास खोज्ने प्रयास तीव्र बनेसँगै आगामी दिनमा विवाद समाधान हुने विश्वास व्यक्त गरिएको छ।