धनगढी । नेपाली चलचित्र ‘मास्टर्नी’ को प्रवर्द्धनात्मक (प्रमोशनल) गीत सार्वजनिक भएपछि त्यसप्रति नेपाल शिक्षक महासंघले कडा आपत्ति जनाएको छ। महासंघले उक्त गीतले महिला शिक्षक र समग्र शिक्षण पेसाको गरिमामाथि गम्भीर प्रहार गरेको भन्दै तत्काल हटाउन र चलचित्रमा प्रयोग नगर्न फिल्म निर्माण पक्षसँग माग गरेको हो।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापा को संयुक्त हस्ताक्षरमा शुक्रबार जारी विज्ञप्तिमा भदौ ५ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र मास्टर्नी को प्रचारका लागि सार्वजनिक गरिएको गीतमा महिला शिक्षकलाई लक्षित अमर्यादित शब्द र भाव प्रयोग गरिएको आरोप लगाइएको छ।
विज्ञप्तिमा भनिएको छ, “महिला शिक्षकप्रति लक्षित अमर्यादित शब्द र भाव संयोजन गरिएको उक्त गीतले शिक्षक तथा शिक्षण पेसाको गरिमामाथि गम्भीर प्रहार गरेको छ। त्यसैले गीतलाई तत्काल बन्द गरी चलचित्रमा प्रयोग नगर्न सम्बन्धित पक्षसँग आग्रह गर्दछौँ।”
महासंघले गीतलाई निरन्तरता दिइए त्यसबाट उत्पन्न हुन सक्ने असहज परिस्थितिको सम्पूर्ण जिम्मेवारी चलचित्र निर्माता तथा सम्बन्धित कलाकारहरूले नै वहन गर्नुपर्ने चेतावनीसमेत दिएको छ।
चलचित्र मास्टर्नी आगामी भदौ ५ गते देशभर प्रदर्शनमा आउने तयारीमा छ। तर गीत सार्वजनिक भएसँगै शिक्षक समुदायबाट तीव्र विरोध सुरु भएपछि चलचित्र विवादमा तानिएको छ।
यस विषयमा चलचित्र निर्माण पक्षले भने हालसम्म औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन।