मुख्यमन्त्री शाह र सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति र रजिस्ट्रार बीच भेटघाट
धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा. डा. सुनिलकुमार जोशी र रजिस्ट्रार डा. भीम चन्दसँग भेट गरी बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
आइतबार आफ्नै निवासमा आयोजित भेटघाटमा मुख्यमन्त्री शाहले विश्वविद्यालयको नेतृत्व सम्हालेका दुवै पदाधिकारीलाई सफल कार्यकालको शुभकामना दिँदै विश्वविद्यालयको समग्र विकास, गुणस्तरीय स्वास्थ्य शिक्षा, अनुसन्धान तथा स्वास्थ्य सेवाको विस्तारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।
मुख्यमन्त्रीले विश्वविद्यालयलाई सुदूरपश्चिमकै मात्र नभई देशकै उत्कृष्ट स्वास्थ्य शिक्षा संस्थाका रूपमा स्थापित गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गरेका थिए। उनले प्रदेश सरकारले विश्वविद्यालयको विकासका लागि आवश्यक सहकार्य र सहयोग गर्न प्रतिबद्ध रहेको पनि उल्लेख गरे।
मुख्यमन्त्रीको सचिवालयका अनुसार भेटघाट सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो। उल्लेखनीय छ, गत असार ३१ गते बसेको विश्वविद्यालयको सिनेट बैठकले प्रा. डा. सुनिलकुमार जोशीलाई उपकुलपति र डा. भीम चन्दलाई रजिस्ट्रारमा नियुक्त गर्ने निर्णय गरेको थियो। नयाँ नेतृत्वसँगै विश्वविद्यालयको शैक्षिक, प्राज्ञिक तथा स्वास्थ्य सेवा क्षेत्रमा थप प्रभावकारी काम हुने अपेक्षा गरिएको छ।