सीमावर्ती क्षेत्रमा लागू औषधको ओसारपसार बढ्दो

कञ्चनपुर  : कञ्चनपुर बेलौरीमा लागू औषध (ब्राउन सुगर) सहित दुई जना पक्राउ परेका छन् । बुधवार साँझ बेलौरी नगरपालिका १० सडकघाटबाट १.५९० ग्राम ब्राउन सुगर सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बेलडाडी गाउँपालिका १ को बस्ने २४ वर्षीय राकेश राना र बेलौरी नगरपालिका ९ बस्ने २५ वर्षीय गुड्डु राना रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बेलडाडी, प्रहरी चौकी भुडा र सशस्त्र प्रहरी बिओपी पचुईको संयुक्त टोलीले उनीहरूलाई भारतको टिल्ला नम्बर ४ बाट आउँदै गर्दा पक्राउ गरेको थियो ।

पक्राउ परेपछि खानतलासी गर्दा उनीहरूको साथबाट प्रहरीले लागू औषध फेला परेको जनाएको छ । प्रहरी स्रोतका अनुसार पक्राउ परेका राकेश उक्त लागू औषध ल्याउन टिल्ला पुगेका थिए भने गुड्डु नेपाल तर्फ बाटो कुरी बसेका थिए ।

प्रहरीले उनको साथबाट दुई मोटरसाइकल समेत बरामद गरेको छ । दुबैलाई पक्राउ गरी थप आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय बेलडाँडीमा राखिएको छ । केही दिन अघि मात्रै सडकघाटको आधारभूत विद्यालय नजिकबाट प्रहरीले दुई जनालाई ब्राउन सुगर सहित पक्राउ गरेको थियो । उनीहरू पनि भारतको टिल्ला नम्बर ४ बाटै ब्राउन सुगर ल्याई नेपाल आउँदै गर्दा पक्राउ परेका थिए ।

पछिल्लो समय बेलौरीको खुल्ला सीमा जोडिएको भारतीय गाउँ टिल्ला नम्बर ४ लागु औषधको व्यापारको मुख्य ठाउँ बनेको छ । यो लगायत भारतीय कम्बोजनगर, टाटरगन्ज, खजुरिया, सम्पुर्णानगर लगायतका गाउँमा लागू औषधको खुलेआम व्यापार बढ्दो छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.