अत्तरियाको दशकौँ पुरानो बस्ती र सार्वजनिक संरचना जोगाउन सांसदसमक्ष अत्तरिया उद्योग वाणिज्य संघको ज्ञापनपत्र

अत्तरिया  : अत्तरिया उद्योग वाणिज्य संघले दशकौँदेखि बसोबास गर्दै आएका स्थानीय बस्ती, सार्वजनिक संरचना तथा संघको कार्यालय रहेको जग्गा संरक्षणको माग गर्दै कैलाली निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य खेमराज कोइरालालाई ज्ञापनपत्र बुझाएको छ।

संघका अध्यक्ष कमल कडायतको नेतृत्वमा गएको टोलीले बुझाएको ज्ञापनपत्रमा गोदावरी नगरपालिका–२ उत्तर वनखेत क्षेत्रमा २०४० सालदेखि बसोबास गर्दै आएका करिब ३०० घरधुरी सशस्त्र प्रहरी बल वैद्यनाथ वाहिनीको भोगाधिकार क्षेत्रभित्र परेपछि स्थानीय बस्ती नै विस्थापित हुने जोखिम बढेको उल्लेख गरिएको छ।

ज्ञापनपत्रमा अत्तरिया उद्योग वाणिज्य संघ, बजार व्यवस्थापन समिति, विद्यालय, मठमन्दिर तथा सार्वजनिक बाटोसमेत उक्त क्षेत्रभित्र परेकाले स्थानीय जनजीवन, व्यापारिक गतिविधि र सार्वजनिक सेवामा गम्भीर असर पर्ने अवस्था सिर्जना भएको जनाइएको छ।

संघले लामो समयदेखि चलनभोगमा रहेको जग्गामा स्थानीयवासी, उद्योगी–व्यापारी तथा विभिन्न निकायको सहयोगमा करिब दुई करोड रुपैयाँ लागतमा आफ्नै भवन निर्माण गरी कार्यालय सञ्चालन गर्दै आएको उल्लेख गर्दै उक्त जग्गा सम्बन्धित व्यक्ति तथा संस्थाकै नाममा कायम गराउन सरकारसँग पहल गरिदिन सांसद कोइरालासमक्ष आग्रह गरेको छ।

ज्ञापनपत्र बुझ्दै सांसद खेमराज कोइरालाले स्थानीयको जायज मागप्रति आफू संवेदनशील रहेको बताउँदै समस्या समाधानका लागि सम्बन्धित निकायसँग हुने डेलिगेसनमा स्वयं सहभागी हुने प्रतिबद्धता जनाए। उनले विषयलाई मन्त्रिपरिषद्सम्म पुर्‍याई आवश्यक निर्णय गराउन पहल गर्ने आश्वासनसमेत दिएका छन्।

सांसदको उक्त प्रतिबद्धतापछि स्थानीयवासी, उद्योगी–व्यापारी तथा संघका पदाधिकारीले वर्षौँदेखि अन्योलमा रहेको जग्गा विवाद समाधानतर्फ अब ठोस पहल हुने अपेक्षा व्यक्त गरेका छन्। स्थानीयले ऐतिहासिक बस्ती, सार्वजनिक संरचना र व्यापारिक पूर्वाधार संरक्षणका लागि सरकारबाट शीघ्र सकारात्मक निर्णय हुनुपर्ने माग दोहोर्याएका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.