सुदूरपश्चिममा सुरक्षा सतर्कता बढाउन मुख्यमन्त्री शाहको निर्देशन

धनगढी  : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशका सुरक्षा निकायका प्रमुखहरूसँग समसामयिक सुरक्षा अवस्था, सामाजिक सद्भाव तथा मनसुनजन्य विपद् व्यवस्थापनका विषयमा उच्चस्तरीय छलफल गरेका छन ।

मुख्यमन्त्री शाहको अध्यक्षतामा बसेको बैठकले मुलुकमा विकसित राजनीतिक तथा सामाजिक अवस्था, विभिन्न क्षेत्रमा भइरहेका आन्दोलन, सम्भावित प्रदर्शन तथा झडपका घटनाका साथै मनसुनका कारण प्रदेशका विभिन्न जिल्लामा आउन सक्ने बाढी, पहिरो र डुबानजस्ता विपद्बाट उत्पन्न हुन सक्ने चुनौतीबारे समीक्षा गरेको थियो।

बैठकले साउन १० गते सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज तथा साउन १४ गते सिराहामा दुई समुदायबीच भएको झडपमा ज्यान गुमाएकाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ।

साथै सुनसरी, सिराहा लगायतका क्षेत्रमा देखिएको सामाजिक तथा धार्मिक तनावको प्रभाव सुदूरपश्चिममा समेत पर्न सक्ने जोखिमलाई ध्यानमा राख्दै सामाजिक सद्भाव कायम गर्न सार्वजनिक अपिल गर्ने निर्णय गरिएको छ। यसका लागि प्रदेशका सबै जिल्ला प्रशासन कार्यालयलाई जिल्लास्तरमा सद्भाव र्याली आयोजना गर्न निर्देशन दिइएको छ।

बैठकले सम्भावित सामाजिक तथा साम्प्रदायिक घटनाबाट प्रदेशको शान्ति सुरक्षामा असर पर्न नदिन सुरक्षा निकायलाई उच्च सतर्कता अपनाउन, आवश्यक तयारी अवस्थामा रहन तथा कुनै पनि अप्रिय घटना हुन नदिन प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएको छ।

त्यसैगरी, मनसुन सक्रिय रहेकाले बाढी, पहिरो, डुबानलगायतका विपद्को जोखिमलाई मध्यनजर गर्दै उद्धार, राहत र विपद् व्यवस्थापनका सबै तयारी पूर्वअवस्थामै पूरा गर्न सम्बन्धित सुरक्षा निकायलाई निर्देशन दिइएको छ।

बैठकमा प्रमुख सचिव बैकुण्ठप्रसाद अर्याल, सुदूरपश्चिम पृतना मुख्यालय तेघरीका पृतनापति उपरथी किरण केसी, उपरथी पवन खत्री, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव तेजप्रकाश जोशी, प्रदेश प्रहरी प्रमुख सानुराम भट्टराई तथा सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ बाहिनीका बाहिनीपति दिग्विजय सुवेदीलगायतको उपस्थिति रहेको थियो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.