शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयद्वारा प्राध्यापक तथा सह–प्राध्यापकको अन्तिम नतिजा सार्वजनिक, १७ जना छनोट
अत्तरिया : शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, गेटा कैलालीले करार सेवाअन्तर्गत प्राध्यापक तथा सह–प्राध्यापक पदका लागि खुला प्रतिस्पर्धाबाट शिक्षक छनोटको अन्तिम नतिजा सार्वजनिक गरेको छ।
विश्वविद्यालयले २०८२ फागुन ८ गते प्रकाशित विज्ञापनअनुसार विभिन्न विषयमा आवेदन दिएका उम्मेदवारहरूको छनोट प्रक्रिया सम्पन्न गरी योग्यता क्रमका आधारमा अन्तिम नतिजा सार्वजनिक गरेको जनाएको छ। सार्वजनिक नतिजाअनुसार विभिन्न विषयमा १७ जना उम्मेदवार छनोट भएका छन्।
सह–प्राध्यापक पदमा एनाटोमीमा ईजु श्रेष्ठ, फिजियोलोजीमा डिल्लीबहादुर पुन, माइक्रोबायोलोजीमा चन्दनकुमार ठाकुर, बायोकेमेस्ट्रीमा सरोज कुँवर, नर्सिङमा सीग्मा भट्टराई, ईएनटीमा भुवनराज पाण्डेय, प्रसूति तथा स्त्रीरोगमा रविन्द्र देव भट्ट, जनरल सर्जरीमा विवेक खम्बु, एनेस्थेसियोलोजीमा रोविन खापुङ, डेन्टल सर्जरीमा नशिव पाण्डेय, बालरोगमा विकास भण्डारी, रेडियोलोजीमा अशोकराज पन्त तथा अर्थोपेडिक्समा शिवराज पनेरु छनोट भएका छन्।
त्यसैगरी प्राध्यापक पदमा फोरेन्सिक मेडिसिनका लागि केशव श्रेष्ठ, फार्माकोलोजीका लागि विजय अर्याल, इन्टरनल मेडिसिनका लागि चिरञ्जीवी पन्त तथा अफ्थाल्मोलोजीका लागि विक्रमबहादुर थापा छनोट भएका छन्।
विश्वविद्यालयले अन्तिम नतिजामा नाम समावेश भएका सबै सफल उम्मेदवारलाई २०८३ साउन २५ गतेभित्र विश्वविद्यालयको केन्द्रीय कार्यालयमा सम्पर्क गरी नियुक्तिसम्बन्धी आवश्यक प्रक्रिया पूरा गर्न आग्रह गरेको छ। तोकिएको अवधिभित्र आवश्यक कागजातसहित उपस्थित भई नियुक्ति प्रक्रिया सम्पन्न गर्न विश्वविद्यालयले अनुरोध गरेको छ।
यो नतिजा करार सेवाअन्तर्गत शिक्षक नियुक्ति प्रक्रियाको अन्तिम चरणका रूपमा सार्वजनिक गरिएको विश्वविद्यालयले जनाएको छ।