अत्तरिया : गोदावरी नगरपालिका–९ मा रहेको धार्मिक तथा प्राकृतिक महत्व बोकेको भल्का (शिवकुण्ड) पछिल्लो समय आन्तरिक पर्यटकको प्रमुख आकर्षण बन्दै गएको छ। वनभोज, घुमफिर तथा धार्मिक आस्थाका लागि यहाँ आउने आगन्तुकको संख्या वर्षेनी बढ्दै गएको स्थानीय बताउँछन्।
स्थानीयका अनुसार माघी, औंसी र पूर्णिमाका अवसरमा स्नान गर्ने परम्परा रहेको भल्कामा अहिले साना–ठूला समूह, संघ–संस्था तथा विद्यालयका विद्यार्थीहरू पनि वनभोज र मनोरञ्जनका लागि पुग्ने गरेका छन्।
भल्काको मुख्य विशेषता भनेको जमिनबाट वर्षभरि नै प्राकृतिक रूपमा निरन्तर पानी बगिरहनु हो। यही विशेषताका कारण यस स्थानलाई ‘भल्का’ नाम दिइएको स्थानीयको भनाइ छ। यहाँ शिवमन्दिर पनि निर्माण गरिएको छ, जसले धार्मिक महत्वलाई थप बढाएको छ।
गत शनिबार भल्का पुगेका धनगढीका दीपक विकले यहाँको प्राकृतिक सौन्दर्य र शान्त वातावरणले आफू प्रभावित भएको बताए। उनले भने, “भल्का राम्रो छ भन्ने सुनेको थिएँ। त्यसैले घुम्न आएको हुँ। वास्तवमै निकै रमणीय रहेछ। वनभोजका लागि पनि उपयुक्त स्थान रहेछ। यहाँको शान्त वातावरण र जमिनबाट निरन्तर पानी आइरहने दृश्यले मलाई अचम्मित बनायो।”
गोदावरी नगरपालिका–९ का वडाध्यक्ष रामलाल रानाका अनुसार चाडपर्व, सार्वजनिक बिदा तथा अन्य समयमा भल्कामा आगन्तुकको उल्लेख्य भीड लाग्ने गर्छ। विशेषगरी तिहारपछि वैशाखसम्म वनभोजका लागि आउनेको संख्या अत्यधिक हुने गरेको उनले बताए।
“माघीमा यहाँ मेला नै लाग्छ। वर्षभरि नै मानिसहरू आउँछन्। चाडपर्वका बेला त थेगिनसक्नु भीड हुन्छ,” उनले भने। तर, आगन्तुकको संख्या बढ्दै गए पनि आवश्यक पूर्वाधारको अभावले व्यवस्थापनमा कठिनाइ भइरहेको वडाध्यक्ष रानाको भनाइ छ। उनका अनुसार पक्की घेरबार, खानेपानी, विद्युत्, शौचालय तथा व्यवस्थित वनभोज स्थल निर्माण गर्न सके पर्यटकलाई अझ सहज हुने थियो।
उनले प्रदेश सरकारसँग आवश्यक पूर्वाधार निर्माणका लागि निरन्तर पहल भइरहेको जानकारी दिँदै भल्कालाई व्यवस्थित गर्न सके सुदूरपश्चिमकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने विश्वास व्यक्त गरे।
स्थानीयवासी पनि प्राकृतिक रूपमा जमिनबाट निरन्तर पानी बग्ने दुर्लभ विशेषता, धार्मिक महत्व र शान्त वातावरणका कारण भल्काको आकर्षण दिनप्रतिदिन बढ्दै गएको बताउँछन्। उनीहरूका अनुसार आवश्यक पूर्वाधार निर्माण र प्रभावकारी प्रवर्द्धन गर्न सके भल्का प्रदेशकै महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुन सक्छ।