अत्तरिया : कैलालीको कैलारी गाउँपालिका–६ खरेटी निवासी २७ वर्षीया अर्चना चौधरी र उनका ७ वर्षीय छोरा साबि कुमाल विगत २१ दिनदेखि सम्पर्कविहीन रहेका छन्। उनीहरूको अवस्था हालसम्म अज्ञात रहेको भन्दै परिवारले खोजीमा सहयोग गरिदिन सबैसँग आग्रह गरेको छ।
अर्चनाका श्रीमान् सदीप कुमालका अनुसार अर्चना असार ३० गते धनगढी उपमहानगरपालिका–१८ स्थित फूलबारी एकेडेमीबाट एलकेजीमा अध्ययनरत छोरा साबिलाई लिएर घर फर्किने क्रममा सम्पर्कविहीन भएकी हुन्। त्यसयता उनीहरू दुवैजनासँग कुनै पनि प्रकारको सम्पर्क हुन नसकेको उनले बताए।
घटनापछि परिवारले स्थानीय प्रहरी चौकीमा हुलियासहित खोजतलासका लागि निवेदन दिएको भए पनि हालसम्म आमा–छोराको अवस्था खुल्न सकेको छैन। प्रहरीले खोजी कार्य जारी राखेको जनाइएको छ।
श्रीमान् सदीप कुमालले आफूहरूबीच पारिवारिक सम्बन्ध सामान्य रहेको र कुनै किसिमको घरायसी विवादसमेत नरहेको स्पष्ट पार्दै अचानक श्रीमती र छोरासँग सम्पर्क विच्छेद हुनुको कारणबारे आफू अन्योलमा रहेको बताए।
परिवारले अर्चना चौधरी र साबि कुमाललाई कतै देख्नुभएको वा उनीहरूको अवस्थाबारे कुनै जानकारी भए तत्काल ९८६९८४८५५२ नम्बरमा सम्पर्क गर्न वा नजिकको प्रहरी कार्यालयमा जानकारी गराइदिन सबैमा हार्दिक अनुरोध गरेको छ।
परिवारका अनुसार उनीहरूको सकुशल खोजीका लागि सम्बन्धित निकायसँगै आम नागरिकको सहयोग अत्यन्त आवश्यक रहेको छ।