बहुक्षेत्रीय समन्वयमार्फत नगर स्वास्थ्य सुशासन सुदृढीकरणमा जोड

अत्तरिया  : नेपाल नगरपालिका संघ, जर्मन विकास सहयोग संस्था र म्युनिसिपल एसोसिएसन अफ नेपालको सहकार्यमा “बहुक्षेत्रीय समन्वयमार्फत नगर स्वास्थ्य सुशासन सुदृढीकरण” विषयक नीतिगत संवाद कार्यक्रम धनगढीमा सम्पन्न भएको छ ।

नेपाल नगरपालिका संघका प्रदेश सभापति तथा गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टको अध्यक्षतामा आयोजित कार्यक्रममा सुदूरपश्चिम प्रदेशका प्रदेश सचिव बैकुण्ठ अर्याल, नेपाल नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधि देवकोटा, विभिन्न स्थानीय तहका प्रमुख तथा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य शाखा प्रमुखलगायतको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै कार्यकारी निर्देशक देवकोटाले स्थानीय सरकारमार्फत प्रवाह भइरहेको स्वास्थ्य सेवाको वर्तमान अवस्था, त्यसको प्रभावकारिता तथा सुधारका सम्भावित उपायबारे गम्भीर छलफल आवश्यक रहेको बताए । उनले सबै स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा समान रूपमा उपलब्ध भए–नभएको मूल्याङ्कन गर्दै नागरिकसम्म गुणस्तरीय, सहज र पहुँचयोग्य स्वास्थ्य सेवा पु¥याउने उपाय खोज्नु अहिलेको प्रमुख आवश्यकता भएको उल्लेख गरे ।

संवादका क्रममा विभिन्न नगरपालिकाले स्वास्थ्य क्षेत्रमा गरेका उत्कृष्ट अभ्यास, उपलब्धि तथा कार्यान्वयनका क्रममा सामना गर्नुपरेका चुनौतीहरू प्रस्तुत गरेका थिए । विशेषगरी बाजुरा, अछाम र बझाङ लगायतका पहाडी जिल्लामा प्रसूतिको समयमा समयमै उपचार नपाउँदा तथा पर्याप्त पोषणको अभावका कारण महिलाले अकालमै ज्यान गुमाउनुपरेका घटनाप्रति सहभागीहरूले गम्भीर चिन्ता व्यक्त गरेका थिए । मातृ स्वास्थ्य सुधार, प्रभावकारी सेवा प्रवाह तथा बहुक्षेत्रीय समन्वयलाई थप सुदृढ बनाउन आवश्यक रहेको निष्कर्ष निकालिएको थियो ।

कार्यक्रममा जर्मन विकास सहयोग संस्था को प्राविधिक सहयोग, संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्व तथा नेपाल नगरपालिका संघ को साझेदारीमा सञ्चालित स्वास्थ्य क्षेत्र रणनीतिमा सहयोग तथा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परियोजनाबारे पनि जानकारी गराइएको थियो ।

सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तीन नगरपालिकामा कार्यान्वयन भइरहेका यी परियोजनाले स्वास्थ्य सुशासन, नीति तथा योजना निर्माण, तथ्यांकमा आधारित व्यवस्थापन, नागरिक सहभागिता, लैङ्गिक समानता, सामाजिक समावेशीकरण तथा बहुक्षेत्रीय समन्वयमार्फत गुणस्तरीय र दिगो स्वास्थ्य सेवा प्रवाहमा सहयोग गर्ने लक्ष्य लिएको जनाइएको छ ।

कार्यक्रमका विशिष्ट अतिथि प्रदेश सचिव बैकुण्ठ अर्यालले अपेक्षाअनुसार स्वास्थ्य सेवा प्रवाह हुन नसक्नुमा दक्ष जनशक्तिको अभाव, तीनै तहका सरकारबीच प्रभावकारी समन्वयको कमी तथा व्यवस्थापनका चुनौती मुख्य कारण रहेको बताए । उनले स्वास्थ्य संस्था थप्नेभन्दा नागरिकलाई रोग लाग्न नदिने, स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने तथा निरोगी जीवनशैली प्रवद्र्धन गर्ने कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।

नेपाल नगरपालिका संघका प्रदेश सभापति तथा गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले स्वास्थ्य नागरिकको आधारभूत अधिकार भएकाले प्रत्येक स्थानीय तहले आफ्नो जिम्मेवारी अझ प्रभावकारी रूपमा निर्वाह गर्नुपर्ने बताए । उनले स्वास्थ्य सेवा विस्तार, गुणस्तर सुधार तथा नागरिकमैत्री सेवा प्रवाहलाई स्थानीय सरकारहरूको प्राथमिकतामा राख्न आग्रह गर्दै स्वस्थ नागरिकबाट मात्रै समृद्ध समाज निर्माण सम्भव हुने उल्लेख गरे ।

आधारभूत स्वास्थ्य सेवा सबै नागरिकको पहुँचमा पु¥याउन स्थानीय सरकारहरू अझ सक्रिय हुनुपर्ने उनको भनाइ थियो । कार्यक्रममा स्थानीय तहको स्वास्थ्य प्रणालीलाई प्रभावकारी, समावेशी र दिगो बनाउन संघ, प्रदेश तथा स्थानीय सरकारबीचको समन्वयलाई थप सुदृढ गर्नुपर्नेमा जोड दिइयो । साथै, स्वास्थ्य सुशासन सुधार, प्रमाणमा आधारित योजना निर्माण, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणलाई प्राथमिकतामा राख्दै यस्ता नीति संवाद तथा अनुभव आदानप्रदानका कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको थियो । कार्यक्रमको सञ्चालन नेपाल नगरपालिका संघकी कार्यक्रम संयोजक सुनिता सुवेदीले गरेकी थिइन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.