धनगढी : नेपाली कांग्रेसको संस्थापन इतर समूहले यहि साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने राष्ट्रिय भेलाको तयारी कैलालीमा सुरु गरेको छ । जिल्लाबाट नेता, कार्यकर्ता तथा जनप्रतिनिधिको सहभागिता सुनिश्चित गर्न जिल्लास्तरमा अभियान सुरु गरिएको हो । शुक्रबार काँग्रेस पार्टी कार्यालय कैलालीको हलमा छलफल गरिएको छ ।
छलफल कार्यक्रममा समूहका केन्द्रीय प्रतिनिधि तथा सुदूरपश्चिम प्रदेशका पूर्व प्रदेश प्रमुख देवराज जोशीको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ४ र ५ का अगुवा नेता, कार्यकर्ता तथा जनप्रतिनिधिहरू सहभागी भएका थिए ।
छलफललाई सम्बोधन गर्दै केन्द्रीय प्रतिनिधि जोशीले काठमाडौंमा हुने राष्ट्रिय भेला पार्टीलाई अझ सुदृढ, एकताबद्ध र लोकतान्त्रिक अभ्यासलाई संस्थागत बनाउने उद्देश्यका साथ आयोजना गरिएको बताए । उनले कैलालीका पाँचवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अभियान सञ्चालन गरी जिल्लाबाट व्यापक सहभागिता सुनिश्चित गरिने जानकारी दिए ।
जोशीले पार्टीका नेता, कार्यकर्ता तथा जनप्रतिनिधिलाई राष्ट्रिय भेलामा सक्रिय रूपमा सहभागी हुन आग्रह गर्दै यसलाई पार्टीको भावी राजनीतिक दिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा लिनुपर्ने धारणा व्यक्त गरे ।
आयोजकका अनुसार काठमाडौंमा हुने उक्त राष्ट्रिय भेलालाई नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
संस्थापन इतर समूहले आयोजना गर्न लागेको राष्ट्रिय भेलालाई कांग्रेसभित्र संगठन सुदृढीकरण, आन्तरिक एकता र आगामी राजनीतिक रणनीतिबारे साझा धारणा निर्माण गर्ने महत्वपूर्ण मञ्चका रूपमा हेरिएको छ ।