गोदावरीमा ‘आशा परियोजना’ सञ्चालन हुने, स्तन र पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक पहिचानमा जोड

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा महिलाको स्वास्थ्य प्रवद्र्धन तथा स्तन र पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक पहिचानलाई प्रभावकारी बनाउन ‘आशा परियोजना’ सञ्चालन हुने भएको छ ।

आम्दा माइन्ड्स जापान, नेपाल कार्यालयले अघि बढाएको उक्त परियोजनाले स्तन तथा पाठेघरको मुखको क्यान्सरसम्बन्धी जनचेतना अभिवृद्धि, नियमित स्क्रिनिङ सेवाको विस्तार, प्रारम्भिक पहिचान तथा समयमै उपचार सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयबाट २०८३ साउन ७ गते स्वीकृत भएको परियोजनाले समाज कल्याण परिषद्सँग २०८३ साउन १३ गते द्विपक्षीय सम्झौता गरेसँगै कार्यान्वयनको औपचारिक बाटो खुलेको हो ।

जनचेतना तथा युवा जागरण मञ्च नेपाल (फाया नेपाल) को सहकार्य तथा कार्यान्वयनमा सञ्चालन हुने परियोजना अन्तर्गत गोदावरी नगरपालिकाभित्रका स्वास्थ्य संस्था र समुदायमा स्तन तथा पाठेघरको मुखको क्यान्सरसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिनेछ । साथै नियमित स्क्रिनिङ सेवाको प्रवद्र्धन, क्यान्सरको प्रारम्भिक पहिचान, समयमै निदान तथा उपचारका लागि प्रभावकारी रेफरल प्रणाली सुदृढीकरण र स्वास्थ्य संस्थाको क्षमता अभिवृद्धिमा समेत विशेष जोड दिइने जनाइएको छ ।

गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्टले नगर क्षेत्रमा स्वास्थ्यसम्बन्धी महत्वपूर्ण परियोजना भित्रिनु सकारात्मक उपलब्धि भएको बताउँदै यसको स्वागत गरेका छन् । उनले परियोजनाको प्रभावकारी कार्यान्वयनका लागि नगरपालिकाले आवश्यक समन्वय, सहकार्य र सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

नगर प्रमुख भट्टले नागरिकको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै विभिन्न साझेदार संस्थासँगको सहकार्यलाई अझ सुदृढ बनाइने उल्लेख गरे । उनले परियोजनामार्फत विशेषगरी महिलामा देखिने स्तन तथा पाठेघरको मुखको क्यान्सरको समयमै पहिचान, उपचार तथा स्वास्थ्य सचेतना विस्तारमा उल्लेखनीय योगदान पुग्ने विश्वास व्यक्त गरे ।

‘आशा परियोजना’ सञ्चालनसँगै गोदावरी नगरपालिकामा महिलाको स्वास्थ्य सेवामा पहुँच विस्तार हुनुका साथै क्यान्सरको जोखिम न्यूनीकरण र समयमै उपचारको अवसर बढ्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.