अत्तरिया : कैलाली–कञ्चनपुरका रानाथारू बस्तीमा तीज नजिकिएसँगै ‘सावन डोला’को रौनक बढेको छ। गाउँ–गाउँमा रङ्गीचङ्गी डोला निर्माण गरी महिला, युवा तथा बालबालिका सामूहिक रूपमा रमाउन थालेपछि रानाथारू बस्तीमा चहलपहल बढेको हो।
यसैक्रममा राना थारू समाज, सेहरीको आयोजनामा कैलालीको गोदावरी नगरपालिका–९ स्थित सेहरी भलमन्सा घरमा राना थारू तीज विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। संस्कृति, परम्परा र सामुदायिक एकताको प्रतीकका रूपमा रहेको भलमन्सा घरलाई विशेष रूपमा सजाएर कार्यक्रम आयोजना गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्टले रानाथारू समुदायको मौलिक कला, संस्कृति, परम्परा र पहिचान संरक्षणमा यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले पुस्तान्तरणमार्फत संस्कृति संरक्षण गर्दै आपसी सद्भाव, एकता र भाइचारा अझ मजबुत बनाउन सबैको साथ र सहकार्य आवश्यक रहेको उल्लेख गरे।
नगर प्रमुख भट्टले तीज विशेष कार्यक्रममा सहभागी हुन पाउँदा खुसी लागेको बताउँदै सम्पूर्ण रानाथारू समुदायमा शुभकामना व्यक्त गरे।
रानाथारू समुदायमा तीज आउनुभन्दा करिब १५ दिनअघि नै ‘सावन डोला’ बनाउने र सामूहिक रूपमा खेल्ने परम्परा रहेको छ। महिलाहरू परम्परागत वेशभूषामा सजिएर गीत गाउँदै विशेषगरी साँझपख डोलामा झुल्ने गर्छन्। डोला खेल्ने क्रममा महिला, युवा तथा बालबालिकाको सहभागिता रहने भएकाले गाउँमा उत्सवको वातावरण बन्ने गरेको छ।
गाउँका भलमन्सा घर वा सार्वजनिक स्थानमा बलिया काठका खम्बा, काठको फ्ल्याक र डोरी प्रयोग गरी डोला बनाइन्छ। रङ्गीचङ्गी कपडा तथा ध्वजापताकाले सजाइएका डोलाले अहिले रानाथारू बस्तीको सांस्कृतिक रौनक थप बढाएका छन्।
रानाथारू समुदायको मौलिक परम्पराका रूपमा रहेको ‘सावन डोला’ केवल मनोरञ्जनको माध्यम मात्र नभई सामूहिकता, सामाजिक सद्भाव र सांस्कृतिक पहिचानको प्रतीकसमेत मानिन्छ। पुस्तौंदेखि चलिआएको यस परम्पराले नयाँ पुस्तालाई आफ्नो संस्कृति र मौलिक परम्परासँग जोड्दै सांस्कृतिक निरन्तरतालाई जीवन्त राख्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ।