विश्वासको मत जुट्ने सम्भावना कमजोर भएपछि राजीनामा दिने मुडमा सुदूरपश्चिमका मुख्यमन्त्री

अत्तरिया  : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिन आवश्यक समर्थन जुट्ने सम्भावना कमजोर बनेपछि राजीनामा दिने मुडमा रहेको जनाइएको छ ।

संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री शाहले यहि साउन २८ गतेभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने वा पदबाट राजीनामा दिनुपर्ने अवस्था छ। विश्वासको मतका लागि आवश्यक बहुमत जुट्ने सम्भावना कमजोर भएपछि शाह राजीनामा दिने निष्कर्षमा पुगेको जनाइएको छ ।

राजीनामा दिने वा विश्वासको मत लिने विषयमा थप छलफल तथा निर्णय गर्न नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक बोलाइएको छ। कांग्रेसकी प्रमुख सचेतक सरस्वती खड्काका अनुसार भोली बुधबार दिउँसो २ बजे संसदीय दलको बैठक बस्नेछ।

‘२७ गते दिउँसो २ बजे संसदीय दलको बैठक आह्वान गरिएको छ,’ प्रमुख सचेतक खड्काले भनिन्, ‘माननीय मुख्यमन्त्रीज्यूको योजनाबारे छलफल हुन्छ होला।’

मुख्यमन्त्रीले निर्धारित समयभित्र विश्वासको मत लिनुपर्ने वा राजीनामा दिनुपर्ने बाध्यताबीच अघिल्लो दिन बोलाइएको संसदीय दलको बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

स्रोतका अनुसार विश्वासको मत प्राप्त गर्ने सम्भावना नरहेपछि मुख्यमन्त्री शाहले आफू निकटका सांसदहरूसँग राजीनामाका विषयमा छलफल गरिरहेका छन्। उनले प्रदेशसभा बैठकमा सम्बोधन गरेर राजीनामा दिने कि सोझै प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाउने भन्ने विषयमा समेत परामर्श गरिरहेका छन्।

‘संसद्मा सम्बोधन गरेर राजीनामा दिने वा सोझै प्रदेश प्रमुखलाई बुझाउने भन्ने विषयमा उहाँले परामर्श गरिरहनुभएको छ,’ मुख्यमन्त्रीनिकट स्रोतले भन्यो, ‘काठमाडौँबाट फर्किएलगत्तै उहाँले मन्त्रीहरूसँग पनि छलफल गरिरहनुभएको छ।’

केही दिनअघि काठमाडौँ गएका मुख्यमन्त्री शाह सोमबार कैलाली फर्किएका हुन्। कैलाली फर्किएपछि उनले मन्त्री तथा आफू निकटका सांसदहरूसँग छलफललाई तीव्रता दिएका छन्।

मुख्यमन्त्री शाहले राजीनामा दिएमा सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ। केन्द्रमा भएको सहमतिअनुसार नेकपा संसदीय दलका नेता खगराज भट्टले एमालेको समर्थनमा मुख्यमन्त्रीमा दाबी गर्ने तयारी गरेका छन्।

अब कांग्रेस संसदीय दलको बैठकले लिने निर्णयले मुख्यमन्त्री शाहको आगामी कदम र सुदूरपश्चिमको सत्ता समीकरणबारे थप स्पष्टता दिनेछ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.