धनगढीमा ग्यासको हाहाकार नभएको प्रशासनको दाबी

धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा केही कम्पनीले बजारमा ग्यास सिलिन्डरको नियमित आपूर्ति नगरेपछि आंशिक अभाव देखिएको छ। तर, बजारमा ग्यासको हाहाकार नै भएको भन्ने कुरा गलत रहेको प्रशासनले जनाएको छ।

ग्यास अभाव भएको हल्ला फैलिएपछि कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीको नेतृत्वमा सोमबार धनगढीका ग्यास डिलर तथा आधिकारिक बिक्रेताको अनुगमन गरिएको थियो।

अनुगमनका क्रममा बजारमा समग्र रूपमा ग्यासको अभाव नरहेको भए पनि केही कम्पनीले नियमित आपूर्ति नगर्दा निश्चित ब्रान्डका उपभोक्तालाई समस्या परेको पाइएको प्रशासनले जनाएको छ।

अनुगमनका क्रममा मनकामना र भेरी ग्यासले करिब एक सातादेखि बजारमा सिलिन्डर आपूर्ति नगरेको पाइएको छ। ती कम्पनीका सिलिन्डर बजारमा नआएपछि सम्बन्धित ब्रान्ड प्रयोग गर्ने उपभोक्ताले ग्यास पाउन कठिनाइ भोगिरहेका छन्।

ग्यास अभावसम्बन्धी अपुष्ट हल्ला फैलिएपछि कतिपय उपभोक्ता तथा होटल व्यवसायीले आवश्यकताभन्दा बढी सिलिन्डर सञ्चित गर्न थालेको प्रशासनले जनाएको छ। यसले बजारमा कृत्रिम अभाव सिर्जना हुन सक्ने भन्दै प्रशासनले उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्यास सञ्चित नगर्न आग्रह गरेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी खत्रीका अनुसार अनुगमनका क्रममा ग्यास बिक्रेतालाई एक व्यक्तिलाई एकभन्दा बढी सिलिन्डर बिक्री नगर्न तथा ग्राहकको पहिचान गरेर मात्र सिलिन्डर उपलब्ध गराउन निर्देशन दिइएको छ।

हाल रेडियन्ट र शैपाल ग्यासको आपूर्तिमा भने कुनै समस्या नरहेको प्रशासनले जनाएको छ। एउटै व्यक्तिले आवश्यकताभन्दा बढी सिलिन्डर सञ्चित गर्दा ग्यासको पहुँच नपुगेका उपभोक्ता, विशेषगरी डेरामा बस्ने विद्यार्थी तथा अन्य सर्वसाधारण प्रभावित हुन सक्ने भएकाले त्यसतर्फ समेत सचेत गराइएको खत्रीले बताए।
स्थानीय प्रशासनले बजारमा कृत्रिम अभाव सिर्जना गरी ग्यासको कालोबजारी वा अवैध रूपमा बिक्री(वितरण गरेको पाइएमा सम्बन्धित व्यक्तिमाथि कानुनी कारबाही गर्ने चेतावनी दिएको छ।
प्रशासनले धनगढीमा समग्र रूपमा ग्यासको अभाव नभएको भन्दै उपभोक्तालाई अनावश्यक रूपमा ग्यास सञ्चित नगर्न र हल्लाको पछि नलाग्न आग्रह गरेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.