अत्तरिया : कैलालीको अत्तरियास्थित दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयले विद्यार्थीको उपस्थितिलाई व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउन स्मार्ट ई–हाजिरी प्रणाली सञ्चालनमा ल्याएको छ।
विद्यालयले कक्षा ६ देखि १२ सम्म अध्ययनरत करिब २६ सय विद्यार्थीका लागि क्युआर कोडसहितको परिचयपत्र वितरण गरेको छ। विद्यार्थी विद्यालय प्रवेश गर्दा गेटमा जडान गरिएको ई–हाजिरी मेसिनमा परिचयपत्र देखाएपछि तत्काल हाजिरी हुने र त्यसको जानकारी अभिभावकको मोबाइलमा एसएमएसमार्फत पुग्ने व्यवस्था गरिएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि भट्टराईका अनुसार विद्यार्थी विद्यालयबाट बाहिरिँदा समेत अभिभावकको मोबाइलमा तत्काल सन्देश पुग्नेछ।
“विद्यार्थी विद्यालय प्रवेश गरेको र बाहिरिएको दुवै जानकारी अभिभावकले तत्काल पाउने व्यवस्था गरिएको छ,” अध्यक्ष भट्टराईले भने।
विद्यालयका प्रधानाध्यापक वीरसिंह महताले विद्यार्थी घरबाट विद्यालयका लागि हिँडे पनि बाटोमै हराउने वा विद्यालय नपुग्ने गुनासो आउने गरेको बताए। नयाँ प्रणालीले विद्यार्थी विद्यालय पुगे–नपुगेको तथा विद्यालयबाट बाहिरिएको जानकारी अभिभावकलाई तत्काल उपलब्ध गराउने भएकाले यस्ता समस्या न्यूनीकरणमा सहयोग पुग्ने उनको भनाइ छ।
स्मार्ट ई–हाजिरी प्रणालीले शिक्षकका लागि समेत दैनिक प्रशासनिक काम सहज बनाउने अपेक्षा गरिएको छ। कक्षा शिक्षकले मोबाइलबाटै विद्यार्थीको उपस्थितिको विवरण हेर्न सक्नेछन्। ई–हाजिरी छुटेका विद्यार्थीको हाजिरीसमेत शिक्षकले कक्षाकोठाबाटै अद्यावधिक गर्न सक्ने व्यवस्था गरिएको छ।
शिक्षक तपराज ओझाका अनुसार यसले दैनिक रजिस्टरमा हाजिरी लगाउन लाग्ने समय र झन्झट घटाउनेछ। “प्रविधिको प्रयोगले हाजिरी व्यवस्थापनलाई सहज र प्रभावकारी बनाएको छ,” उनले बताए।
यसै प्रणालीअन्तर्गत अभिभावकले ‘पाठशाला’ मोबाइल एपमार्फत विद्यार्थीको शैक्षिक गतिविधि, होमवर्क, प्रोजेक्ट असाइनमेन्ट तथा विद्यालयका विभिन्न सूचना हेर्न सक्नेछन्। यसले विद्यालय, विद्यार्थी र अभिभावकबीचको समन्वयलाई थप प्रभावकारी बनाउने विद्यालयको विश्वास छ।
विद्यालयका अनुसार स्मार्ट ई–हाजिरी प्रणाली विगत पाँच–छ दिनदेखि परीक्षणका रूपमा सञ्चालन भइरहेको छ। परीक्षण सफल भएपछि छिट्टै ई–हाजिरीलाई नै विद्यालयको आधिकारिक उपस्थितिका रूपमा लागू गरिनेछ।
प्रविधिको प्रयोगमार्फत विद्यार्थीको उपस्थिति मात्र व्यवस्थित नभई अभिभावकलाई आफ्ना बालबालिकाको विद्यालय उपस्थितिबारे तत्काल जानकारी दिने प्रणालीले विद्यालयको शैक्षिक व्यवस्थापनलाई थप पारदर्शी र उत्तरदायी बनाउने अपेक्षा गरिएको छ।