देउवालाई हेमन्त बाजेको भावुक सन्देश : ‘दूरी ठाउँको मात्र हो, मनको होइन’

धनगढी  : नेपाली कांग्रेस गौरीगंगा नगर कार्यसमितिका सचिव हेमन्त बाजेले पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई स्वदेश फर्किन लागेको अवसरमा आत्मीय शुभकामना व्यक्त गर्दै संगठनभित्र देखिएको गुटगत प्रवृत्तिप्रति चिन्ता व्यक्त गरेका छन्।

देउवा भोलि (बिहिबार) स्वदेश फर्किन लागेको सन्दर्भमा बाजेले स्वास्थ्यलाभ, सुख, शान्ति तथा दीर्घायुको कामना गर्दै आफ्नो भौतिक उपस्थिति विमानस्थलमा हुन नसके पनि देउवाप्रतिको सम्मान, विश्वास र आत्मीयतामा कुनै कमी नरहेको बताएका हुन्।

‘एयरपोर्टसम्म आउन नसके पनि मेरो भौतिक उपस्थिति नहुनुलाई दूरी नसम्झनु होला दाइ,’ बाजेले भनेका छन्, ‘दूरी ठाउँको मात्र हो, मनको होइन। भेट हुन नसकेको मात्र हो, आत्मीयता हराएको होइन।’

घरायसी काम तथा अन्य परिस्थितिका कारण देउवाको स्वागतका लागि काठमाडौं विमानस्थल पुग्न नसकेको उल्लेख गर्दै बाजेले पछिल्लो समय कांग्रेसभित्र देखिएको गुटगत स्वार्थ, तछाडमछाड र असहज परिस्थितिले आफूलाई चिन्तित बनाएको बताएका छन्।

उनले गाउँघरमा पार्टी संगठनको अवस्था र कार्यकर्ताको मनोभावप्रति आफू गम्भीर रहेको उल्लेख गर्दै नेतृत्वले केन्द्रमा देखिने आवाजसँगै गाउँ तहमा चुपचाप पार्टीका लागि खटिने कार्यकर्ताको भावना पनि सुन्नुपर्नेमा जोड दिएका छन्।

बाजेले पछिल्लो समय गाउँघरका चिया पसलदेखि बाटोघाटोसम्म देउवाको नेतृत्वबारे सकारात्मक चर्चा हुन थालेको दाबी गरेका छन्। हिजो देउवाको आलोचना गर्ने तथा नेतृत्वमाथि प्रश्न उठाउनेहरू नै अहिले ‘शेरबहादुर देउवा नेता हुन्, सिंगो सुदूरपश्चिमको गौरव हुन्’ भन्दै प्रशंसा गर्न थालेको उल्लेख गर्दै उनले यसलाई नेतृत्वको वास्तविक शक्ति भएको बताएका छन्।

‘समयको परीक्षा पार गर्दै आफ्ना समर्थक मात्र होइन, आलोचकहरूको मनमा समेत आफ्नो स्थान बनाउन सक्नु नै नेतृत्वको वास्तविक शक्ति हो,’ बाजेको भनाइ छ।

उनले देउवालाई व्यक्तिगत स्वार्थ र गुटभन्दा माथि उठेर पार्टीका सबै पक्षलाई समेट्न आग्रहसमेत गरेका छन्। नेपाली कांग्रेसलाई पुनः चलायमान, सशक्त, एकताबद्ध र समयसापेक्ष युवा केन्द्रित संगठन बनाउन देउवाले अभिभावकीय भूमिका अझ बलियो बनाउनुपर्ने उनको सुझाव छ।

युवाको जोशलाई अनुभवी नेतृत्वको मार्गदर्शनसँग जोड्न सके पार्टीले नयाँ ऊर्जा प्राप्त गर्ने र गाउँ तहमा निराश भएका कार्यकर्ताको आँखामा पुनः आशा जगाउन सके संगठन स्वतः बलियो बन्ने बाजेको विश्वास छ।

देउवाको सुदूरपश्चिमसँगको आत्मीय सम्बन्धलाई स्मरण गर्दै बाजेले आगामी दिनमा देउवा सुदूरपश्चिम भ्रमणमा आउँदा धनगढी विमानस्थलमै भेटेर स्वागत गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

‘त्यो दिन कुनै गुनासो लिएर होइन, कुनै स्वार्थ बोकेर होइन—एउटा इमानदार कार्यकर्ताको मन बोकेर तपाईंको स्वागतमा उभिनेछु,’ उनले भनेका छन्।

आगामी भेटमा संगठन, कार्यकर्ता, गाउँको अवस्था र नेपाली कांग्रेसको भविष्यबारे खुलेर संवाद गर्ने अपेक्षा व्यक्त गर्दै बाजेले देउवालाई स्वस्थ रहन, मनोबल उच्च राख्न र सुदूरपश्चिमसँगको आत्मीय सम्बन्ध अझ गहिरो बनाउन शुभकामना दिएका छन्।

हेमन्त बाजे
सचिव, नेपाली कांग्रेस गौरीगंगा नगर कार्यसमिति

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.