अत्तरिया । सुदूरपश्चिम प्रदेशमा सत्ता समीकरण फेरिएसँगै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता खगराज भट्ट नयाँ मुख्यमन्त्री बन्ने भएका छन्। निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएपछि नेकपा–एमाले गठबन्धनको समर्थनमा भट्टको नेतृत्वमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको हो।
प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नयाँ मुख्यमन्त्री नियुक्तिका लागि आज शुक्रबार बिहान ११ बजेसम्म दाबी पेस गर्न आह्वान गरेका छन्। नेकपा नेता भट्टले नेकपा एमालेको समर्थनसहित तोकिएको समयभित्रै मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गरेका छन्।
भट्टले दाबी पेस गरेपछि प्रदेश प्रमुख मियाँले शुक्रबार नै उनलाई मुख्यमन्त्री नियुक्त गर्ने तयारी गरेका छन्। नेकपाका एक सांसदका अनुसार बिहान ११ बजे मुख्यमन्त्री नियुक्ति भएपछि दिउँसो ३ बजे शपथ ग्रहण कार्यक्रम तय गरिएको छ।
मुख्यमन्त्री नियुक्त भएलगत्तै भट्टले सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारीसमेत गरेको नेताहरूले बताएका छन्। नेकपा र एमालेबीच मन्त्रालय बाँडफाँटबारे यसअघि नै सहमति भइसकेको जनाइएको छ।
सहमति अनुसार नेकपाले मुख्यमन्त्रीसहित चार मन्त्रालय र एमालेले तीन मन्त्रालयको जिम्मेवारी पाउनेछन्। एमालेले आर्थिक मामिला, सामाजिक विकास तथा वन वा कृषि मन्त्रालयमध्ये एक मन्त्रालयको नेतृत्व पाउने स्रोतको भनाइ छ।
यसअघि गत असार ३१ गते एमालेले बजेटप्रति असहमति जनाउँदै कमलबहादुर शाह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। प्रमुख सत्ता साझेदारले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका शाहमाथि सरकार टिकाइराख्न दबाब बढेको थियो।
त्यसैक्रममा शाहले बिहीबार प्रदेशसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका थिए। प्रदेशसभामा सम्बोधनपछि उनले प्रदेश प्रमुखलाई औपचारिक रूपमा राजीनामा बुझाएसँगै नयाँ सरकार गठनका लागि संवैधानिक प्रक्रिया अघि बढेको हो।