बाजुरा : अविरल वर्षापछि घरमाथिबाट खसेको पहिरोले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा एक जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार बिहीबार रातिदेखि परेको लगातार वर्षापछि ताम्सुका धर्म थापा र कर्णबहादुर थापाको घर पहिरोले पुरिएको हो। पहिरोमा परी दुई जना घाइते भएको र एक जना बेपत्ता भएको प्रारम्भिक जानकारी प्रहरीले प्राप्त गरेको छ। बेपत्ता तथा घाइतेको पहिचान भने खुल्न सकेको छैन।
जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी प्रहरी निरीक्षक नरेशबहादुर शाहीले पहिरोमा परी एक जना बेपत्ता र दुई जना घाइते भएको जानकारी प्राप्त भएको बताए। उनका अनुसार बेपत्ताको खोजी तथा घाइतेको उद्धारका लागि प्रहरी परिचालन गरिएको छ।
त्रिवेणी नगरपालिका–९ का वडाध्यक्ष नन्द थापाका अनुसार रातिदेखि भइरहेको अविरल वर्षाका कारण उद्धार कार्यमा कठिनाइ भएको छ। स्थानीयको सहयोगमा बेपत्ता व्यक्तिको खोजी भइरहेको उनले बताए।
घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेश्वरी बोहराको कमान्डमा १७ जना प्रहरीको टोली आवश्यक उद्धार सामग्रीसहित घटनास्थलतर्फ पठाइएको छ।
तर लगातारको वर्षासँगै ताम्सु खोलामा पानीको बहाव बढेकाले प्रहरी टोली तत्काल घटनास्थलमा पुग्न सकेको छैन। खराब मौसम र बढ्दो खोलाको बहावका कारण उद्धार तथा खोजी कार्य प्रभावित भएको प्रहरीले जनाएको छ।