धनगढीको एक्सिस विद्याश्रममा १२ औँ छुकछुके रोबोट कार्यशाला सम्पन्न हुँदै

अत्तरिया  : एक्सिस विद्याश्रम, धनगढीमा सञ्चालन भइरहेको १२ औँ छुकछुके रोबोट कार्यशाला भोली (मंगलबार) सम्पन्न हुने भएको छ । साउन २९ गतेदेखि सुरु भएको चारदिने कार्यशालामा कक्षा ७ मा अध्ययनरत विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको छ ।

विद्यार्थीहरूलाई औद्योगिक क्षेत्रमा हुने उत्पादन प्रक्रियाबारे व्यवहारिक र रमाइलो ढंगले जानकारी गराउने उद्देश्यले कार्यशाला आयोजना गरिएको विद्यालयले जनाएको छ । कार्यशालाका क्रममा विद्यार्थीहरूले रोबोट निर्माणसँगै डिजाइन, मेकानिकल संरचना, इलेक्ट्रोनिक्स, प्रोग्रामिङ तथा उत्पादन निर्माणका आधारभूत चरणबारे प्रत्यक्ष अभ्यास गरिरहेका छन् ।

विद्यालयकी प्राचार्य अनिता पन्तको प्रेरणादायी नेतृत्व र सक्रिय सहयोगमा सञ्चालन भइरहेको कार्यशालाले विद्यार्थीहरूमा सिर्जनशीलता, समस्या समाधान गर्ने क्षमता, टोलीगत कार्य र नवप्रवर्तनप्रतिको रुचि बढाउन महत्वपूर्ण योगदान पु¥याएको विद्यालयको भनाइ छ । विद्यालय परिवारले प्राचार्य पन्तलाई ऊर्जाशील, साहसी तथा दूरदर्शी महिला नेतृत्वकर्ताका रूपमा सम्मान गर्दै आएको छ ।

कार्यशालामा गोदावरी आविष्कार केन्द्रका प्रशिक्षक शेखर साउदले प्राविधिक प्रशिक्षण दिइरहेका छन । उनको प्रशिक्षणमार्फत विद्यार्थीहरूले प्रविधि, रोबोटिक्स र उत्पादन निर्माण प्रक्रियालाई कक्षाकोठाको सैद्धान्तिक सिकाइभन्दा बाहिर गएर प्रत्यक्ष रूपमा अनुभव गर्ने अवसर पाएका छन् ।

कार्यशालाको अन्तिम दिन भोली विद्यार्थीहरूले आफैँ निर्माण गरेका छुकछुके रोबोटहरूबीच रोचक रोबोट फुटबल प्रतियोगिता आयोजना गरिनेछ । प्रतियोगितालाई कार्यशालाको मुख्य आकर्षणका रूपमा लिइएको छ ।

विद्यालय प्रशासनले भोली (मंगलबार) आयोजना हुने समापन समारोह तथा रोबोट फुटबल प्रतियोगितामा उपस्थित भई विद्यार्थीहरूले निर्माण गरेका रोबोट, उनीहरूको सीप तथा सिर्जनात्मक क्षमताको प्रत्यक्ष अवलोकन गर्दै हौसला प्रदान गर्न सम्पूर्ण अभिभावकलाई आग्रह गरेको छ । “सिकाइलाई गतिविधिसँग जोडौँ, सिर्जना र उद्यमद्वारा अघि बढौँ ।” भन्ने उद्देश्यसहित आयोजित कार्यशालाले प्रविधिमैत्री, सिर्जनशील र प्रयोगात्मक शिक्षाको माध्यमबाट विद्यार्थीलाई भविष्यका लागि तयार पार्ने प्रयास गरेको विद्यालयले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.