धनगढी : सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। मुख्यमन्त्री निवासमा सोमबार भएको छलफलपछि भोलि नै विश्वासको मत लिने गरी तयारी अघि बढाइएको जनाईएका छ।
विश्वासको मत लिने विषयमा थप छलफल गर्न आज दिउँसो २ बजे नेकपा संसदीय दलको बैठक बोलाउने तयारी गरिएको छ। मुख्यमन्त्री भट्टसँग छलफलमा रहेका एक सांसदका अनुसार संसदीय दलको बैठकबाट विश्वासको मत लिने निर्णय गरी भोलि प्रदेशसभामा त्यससम्बन्धी प्रक्रिया अघि बढाइनेछ।
शुक्रबार मुख्यमन्त्रीमा नियुक्त भएका भट्टले विश्वासको मत लिएलगत्तै प्रदेश सरकारलाई पूर्णता दिने तयारीसमेत गरेका छन्। सरकार विस्तारका विषयमा नेकपाभित्र आन्तरिक छलफल तीव्र पारिएको छ।
हाल नेकपा एमालेका तर्फबाट तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त भइसकेका छन्। अब नेकपाको तर्फबाट थप तीन मन्त्री र दुई राज्यमन्त्री नियुक्त गर्ने तयारी रहेको बताइएको छ।
सरकार गठन तथा विश्वासको मतका विषयमा नेकपा संसदीय दलका नेता एवं मुख्यमन्त्री भट्ट र पार्टीका प्रदेश इन्चार्ज भानुभक्त जोशीबीच संयुक्त छलफल भएको थियो। त्यसअघि प्रदेश संयोजक हरि चौधरी, नेतृ रञ्जिता श्रेष्ठ, इन्चार्ज जोशी र मुख्यमन्त्री भट्टबीच पनि विश्वासको मतका विषयमा छलफल भएको थियो।
मुख्यमन्त्री भट्टले विश्वासको मत प्राप्त गरेपछि मन्त्रिपरिषद् विस्तार गर्दै प्रदेश सरकारलाई पूर्णता दिने तयारी गरेका छन्।