भारतमा सिकेको सीपले स्वदेशमै तीन दशकदेखि चाउमिन व्यवसाय, ७१ वर्षमा पनि कजैराजको सक्रियता

अत्तरिया : भारतमा रोजगारीका क्रममा सिकेको सीपलाई स्वदेश फर्किएपछि आफ्नै व्यवसायमा प्रयोग गरेका कञ्चनपुर कृष्णपुर नगरपालिका–५ का ७१ वर्षीय कजैराज जोशी तीन दशकभन्दा बढी समयदेखि चाउमिन उत्पादन र बिक्री–वितरणमा सक्रिय छन्।

दार्चुलाको शैल्यशिखर नगरपालिका–८, झारकाडा पुर्ख्यौली घर भएका जोशीले भारतमा काम गर्दा चाउमिन उत्पादनसम्बन्धी सीप र अनुभव हासिल गरेका थिए। स्वदेश फर्किएपछि त्यही सीपलाई व्यवसायमा परिणत गर्दै उनले करिब ३१–३२ वर्षअघि चाउमिन उत्पादन सुरु गरेका हुन्।

सुरुवाती दिनमा पर्याप्त स्रोतसाधनको अभाव तथा विभिन्न चुनौतीका बीच व्यवसाय थालेका जोशीले निरन्तर मेहनत र लगनशीलताका साथ आफ्नो व्यवसायलाई अघि बढाउँदै आएका छन्। अहिले पनि उनी आफैं चाउमिन उत्पादनमा खटिन्छन्।

जोशीका अनुसार चाउमिन उत्पादन गर्दा सकेसम्म अर्गानिक तथा गुणस्तरीय सामग्री प्रयोग गर्ने गरिएको छ। लामो समयदेखि आफ्नै हातले उत्पादन गर्दै आएका उनले उत्पादनको गुणस्तर र उपभोक्ताको विश्वासलाई व्यवसायको मुख्य आधार बनाएका छन्।

“आफ्नो मेहनतमा विश्वास गरेर निरन्तर काम गर्न सके स्वदेशमै स्वरोजगार बन्न सकिन्छ,” जोशीको भनाइ छ।

उनका लागि यो व्यवसाय आम्दानीको माध्यम मात्र नभई परिवारको भविष्य निर्माण गर्ने आधारसमेत बनेको छ। चाउमिन व्यवसायबाटै घरखर्च चलाउनुका साथै छोराछोरीलाई उच्च शिक्षा दिलाउन र घर–जग्गा जोड्न सफल भएको उनी बताउँछन्।

जोशीले यही व्यवसायको आम्दानीबाट एक छोरालाई सब–इन्जिनियर र अर्का छोरालाई टेक्निसियन पढाउन सफल भएको बताए। अध्ययन पूरा गरेपछि दुवै छोराले रोजगारीसमेत प्राप्त गरिसकेको उनको भनाइ छ।

जोशीको उत्पादनका ग्राहक स्थानीय बजारमा मात्र सीमित छैनन्। धनगढी, अत्तरिया लगायत विभिन्न स्थानबाट समेत ग्राहक चाउमिन खरिद गर्न आउने गरेको उनी बताउँछन्। व्यवसायबाट आफू र ग्राहक दुवै सन्तुष्ट रहेको उनको भनाइ छ।

“थोरै मेहनत गरेर कामलाई निरन्तरता दिन सकियो भने आफ्नै देशमा स्वरोजगार र आत्मनिर्भर बन्न सकिन्छ,” उनी भन्छन्।

७१ वर्षको उमेरमा पनि कामप्रति उत्तिकै सक्रिय जोशीको जीवनयात्रा मेहनत, सीप र आत्मनिर्भरताको उदाहरण बनेको छ। भारतमा सिकेको सीपलाई स्वदेशमै प्रयोग गर्दै तीन दशकभन्दा बढी समयसम्म व्यवसायलाई निरन्तरता दिनु उनको संघर्ष र सफलताको प्रेरणादायी कथा हो।

विदेशमा रोजगारीका क्रममा सिकेको सीप र अनुभवलाई स्वदेशमै प्रयोग गरेर रोजगारी सिर्जना तथा आत्मनिर्भर बन्न सकिने सन्देश जोशीको व्यवसायले दिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.