छाडा पशु चौपायाको व्यवस्थापनको माग गर्दै गोदावरीका नगर प्रमुखको कार्यकक्षमा तालाबन्दी

नगर प्रमुखलाई भेट्न बिहानदेखि कुरेका स्थानीय चार घण्टासम्म पनि भेट नपाएपछि आक्रोशित

अत्तरिया  : कैलालीको गोदावरी नगरपालिकामा छाडा पशु चौपायाको उचित व्यवस्थापन तथा संरक्षणको माग गर्दै नगरपालिका कार्यालय पुगेका स्थानीयवासीले नगर प्रमुख र उपप्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।

छाडा पशु चौपायाका कारण राजमार्गमा दुर्घटना बढ्दै गएको, मानवीय तथा पशु क्षति हुने गरेको र किसानका खेतबारीमा लगाएको बाली नष्ट हुने गरेको भन्दै स्थानीयवासी बुधबार बिहानै नगरपालिका कार्यालय पुगेका थिए ।

स्थानीयवासीले नगर प्रमुख वीरेन्द्र भट्टसँग प्रत्यक्ष भेट गरी समस्या समाधानका लागि तत्काल पहल गर्न आग्रह गर्न खोजेका थिए । तर नगर प्रमुख भट्ट धनगढीमा कार्यक्रममा रहेको जानकारी पाएपछि उनीहरूले कार्यालयमै कुरेर बसेका थिए । नगर प्रमुख भट्टले स्थानीयलाई शुक्रबार बिहान ११ बजे छलफल गर्ने आश्वासन दिएको बताइए पनि दिउँसो ३ बजेसम्म समेत उनी नगरपालिका कार्यालयमा उपस्थित नभएपछि स्थानीय आक्रोशित बनेका हुन् ।

नगर प्रमुख कार्यालय नआएपछि आक्रोशित स्थानीयले नगर प्रमुख भट्ट र उपप्रमुख शारदा देवी रोकायाको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । तालाबन्दी गर्ने क्रममा प्रहरीले रोक्ने प्रयास गरे पनि स्थानीयले आफ्नो माग पूरा नभएको भन्दै कार्यकक्षमा ताला लगाएका थिए ।

स्थानीय युवा उत्तम महराले आफूहरू बिहान साढे ११ बजेदेखि नगर प्रमुखलाई भेट्न नगरपालिका पुगेको बताए । उनका अनुसार नगर प्रमुख धनगढी कार्यक्रममा रहेको जानकारी पाएपछि कार्यालयमै बसेर भेटको प्रतीक्षा गरिएको थियो ।
“हामी नगर प्रमुखलाई भेटेर छाडा पशु चौपायाको व्यवस्थापन तथा संरक्षणका विषयमा जनताको समस्या राख्न आएका थियौँ । तर कार्यालय छुट्टी हुने समय भइसक्दा पनि नगर प्रमुख आउनुभएन,” महराले भने, “जनताको समस्या सुन्न र समाधानका लागि पहल गर्नुपर्ने जिम्मेवार व्यक्ति नै उपस्थित नभएपछि तालाबन्दी गर्नुपर्ने अवस्था आयो ।”
महराले नगर प्रमुखको कार्यशैलीप्रति समेत असन्तुष्टि व्यक्त गरे। जनताका समस्या समाधान गर्न टोल–टोलमा पुग्नुपर्ने समयमा संस्थागत कार्यक्रम तथा विभिन्न कार्यक्रममा सहभागी हुने तर जनताको गुनासो सुन्न समय नदिएको उनको आरोप छ ।
“संस्थागत एनजीओ–आईएनजीओका कार्यक्रममा गएर भत्ता पचाउने कामका लागि समय हुने, हप्तैपिच्छे काठमाडौं जाने समय हुने तर जनताको गुनासो र समस्या सुन्न टोल–टोलमा जाने समय नहुने?” उनले प्रश्न गरे ।

गोदावरी नगरपालिकामा सडक, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा समेत समस्या बढ्दै गएको तर नगर प्रमुखले समस्या समाधानमा पर्याप्त ध्यान नदिएको स्थानीयको आरोप छ ।
युवा समाजसेवी विराज विष्टले पनि आफूहरू बिहानदेखि नै नगर प्रमुखलाई भेट्न नगरपालिका कार्यालयमा कुरेर बसेको बताए । नगर प्रमुखले भेट्न नमानेपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको उनको भनाइ छ ।
“छाडा पशु चौपायाको व्यवस्थापनको माग लिएर बिहानदेखि नगर प्रमुख वीरेन्द्र भट्टलाई कुरेर बसेका थियौँ । पालिकामा करिब चार घण्टा बितिसक्दा पनि उहाँ आउनुभएन,” विष्टले भने, “जनताको समस्याभन्दा भत्तावाला संस्थागत कार्यक्रम ठूलो रहेछ ।”
विष्टले नगर प्रमुखले समन्वयका लागि नबोलाएसम्म तालाबन्दी नखोल्ने चेतावनीसमेत दिए । “नगर प्रमुखले समन्वयका लागि नबोलाएसम्म ताला खोल्दैनौँ । यसमा कसैले अवरोध नगरिदिनुहोस् । जनताको समस्या समाधान गर्ने प्रयास गरियोस्,” उनले भने ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.