अत्तरियामा बसको ठक्करबाट मृत्यु भएकी सिन्कीको शव अस्पतालमै, क्षतिपूर्तिबारे सहमति जुटेन

अत्तरिया  : कैलालीको अत्तरियामा बसको ठक्करबाट मृत्यु भएकी सिन्की बोहराको शव अझै सेती प्रादेशिक अस्पतालमै रहेको छ। दोषी चालकलाई कारबाही र मृतक परिवारलाई क्षतिपूर्तिको माग गर्दै भएको छलफलमा सहमति जुट्न नसकेपछि शव अस्पतालमै राखिएको हो।

बझाङको मष्टा गाउँपालिका–६ घर भई हाल गोदावरी नगरपालिका–१ मा बस्दै आएकी बोहरालाई आइतबार महेन्द्रनगरबाट दार्चुलातर्फ जाँदै गरेको महाकाली यातायातको सुप प्र ०२–००१ ख ९५६ नम्बरको बसले अत्तरियामा ठक्कर दिएको थियो। उनी अत्तरिया बसपार्क क्षेत्रमा पानी र भुजा बिक्री गर्दै जीविकोपार्जन गर्दै आएकी थिइन्।

दुर्घटनापछि स्थानीय तथा मृतकका आफन्तले चालकलाई कडा कारबाही र परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै आइतबार साँझ अत्तरिया बजारमा विरोध प्रदर्शन गरेका थिए।

मृतक परिवार, यातायात पक्ष र प्रहरीबीच सोमबार इलाका प्रहरी कार्यालय मालाखेतीमा भएको छलफलमा दोषीलाई कारबाही तथा क्षतिपूर्तिको विषयमा सहमति जुट्न सकेन।

इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी हीरा महराका अनुसार सोमबारको छलफल निष्कर्षविहीन भए पनि समस्या समाधानका लागि आज मंगलबार बिहान पुनः छलफलमा बोलाइएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.