अत्तरिया : कैलालीमा मंगलबार दुई छुट्टाछुट्टै घटनालाई लिएर आन्दोलन चर्किँदा अत्तरिया र गौरीगंगा क्षेत्रमा तनाव बढेको छ । अत्तरियामा बसको ठक्करबाट मृत्यु भएकी महिलाका आफन्तले प्रदर्शन गरेका छन् भने गौरीगंगामा घुस प्रकरणमा पक्राउ परेका विद्यालय व्यवस्थापन समिति सदस्यलाई षड्यन्त्रपूर्वक फसाइएको दाबी गर्दै स्थानीयले नगरपालिका घेराउ गरेका छन् ।
दुवै क्षेत्रमा प्रदर्शन उग्र बन्न थालेपछि सम्भावित अप्रिय घटना रोक्न ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । केही स्थानमा प्रहरी र प्रदर्शनकारीबीच तनावसमेत सिर्जना भएको छ ।
गोदावरी नगरपालिका–१ मा बस्दै आएकी ३५ वर्षीया सिन्की बोहराको गत आइतबार बसको ठक्करबाट मृत्यु भएपछि उनका आफन्त तथा स्थानीय आन्दोलनमा उत्रिएका हुन् । बझाङको मष्टा गाउँपालिका–६ घर भएकी बोहरालाई अत्तरियामा महेन्द्रनगरबाट दार्चुलातर्फ जाँदै गरेको बसले ठक्कर दिएको थियो। घटनामा संलग्न चालकलाई कडा कारबाही गर्नुपर्ने र मृतक परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गर्दै आफन्त तथा स्थानीयले प्रदर्शन गर्दै आएका छन् ।
मंगलबार प्रदर्शनकारीले अत्तरियास्थित पूर्व–पश्चिम राजमार्ग बन्द गराएपछि लामो समयसम्म यातायात प्रभावित भयो। राजमार्ग अवरुद्ध भएपछि प्रहरीले बल प्रयोग गरेर सडक खुलाएको थियो । राजमार्ग खुले पनि प्रदर्शनकारीले पुनः अत्तरिया बजार बन्द गराएका छन् ।
बजार क्षेत्रमा ठूलो संख्यामा प्रदर्शनकारी भेला भएपछि सुरक्षा व्यवस्था थप कडा पारिएको छ । प्रदर्शनकारीको भीड नियन्त्रण गर्न सुरक्षाकर्मीलाई समेत कठिनाइ भएको जनाइएको छ ।