बाजुरा। धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुराको बडीमालिका भगवती मन्दिरमा आज मुख्य पूजा तथा मेला लागिरहेको छ । यहाँ हरेक वर्ष जनैपूर्णिमाको अघिल्लो दिन अर्थात साउन शुक्ल चतुर्दर्शीका दिन मेला लाग्ने परम्परा छ ।
बडीमालिकामा मुख्य मेला आज भए पनि दर्शनार्थीहरुको चापलाई मध्यनजर गर्दै भदौ १ गतेबाट पूजा प्रारम्भ गरिएको बडीमालिका मन्दिरका पुजारी नेत्र पाध्यायले जानकारी दिए ।
जनैपूर्णिमाको अवसरमा बडीमालिकासँगै बुढीनन्दा, बडालेखसहित दर्जन बढी धार्मिक शक्तिपीठहरुमा पूजा लाग्ने गरेको छ । साउन शुक्ल चतुर्दर्शीका दिन बडीमालिका माताको पूजा गरेर सोही दिन तल झर्ने र जनैपूर्णिमाको दिन त्रिवेणी नगरपालिका–७ स्थित नाटेश्वरी मन्दिरमा पूजाआजा गर्ने परम्परा रहेको पुजारी पाध्यायले बताए ।
चार हजार दुई उचाइमा अवस्थित बडीमालिकामा मेला भर्न हरेक वर्ष देशका विभिन्न जिल्लाका साथै छिमेकी मुलुक भारतबाट समेत यहाँ दर्शनार्थी आउने गरेका छन् । बाजुरा, डोटी, कालिकोट र जुम्लाबाट पूजा सामग्रीसहित सरकारी टोली त्यहाँ जाने परम्परा बमोजिम सबै सरकारी टोली पुगिसकेको र हाल दर्शनार्थीहरुले पूजा गरिरहेको बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्काले बताए । ।
बडीमालिका माताको दर्शनका लागि ठुलो संख्यामा दर्शनार्थीहरु पुग्ने गरेकोले भदौ १ बाटै पूजा प्रारम्भ भएको र सुरक्षा व्यवस्थापन मजबुद बनाएकाले त्यहाँ भिरालो भूगोलका कारण केही अप्ठ्यारो र लेक लाग्ने समस्याबाहेक अन्य कुनै समस्या नहुने प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए ।
बडीमालिकामा वर्षेनी हजारौको संख्यामा पर्यटक तथा दर्शनार्थीहरु पुग्ने गरेका छन् । सञ्चार सेवा नहुँदा तीर्थयात्री तथा सुरक्षाकर्मीले मोबाइल सम्पर्क र इन्टरनेट प्रयोगमा समस्या भोग्दै आएका थिए । तर यस वर्ष मेला अगावै सञ्चार सम्पर्क सहज बनाउन नेपाल टेलिकमको फोरजी टावर समेत सञ्चालनमा ल्याइएको छ । अब फोरजी सेवा सञ्चालनमा आएपछि त्यहाँ पुग्ने भक्तजनलाई परिवारसँग सम्पर्क, सूचना आदान–प्रदान र इन्टरनेट प्रयोग एवं उद्धार तथा सुरक्षा निकायसँग सम्पर्क गर्न समेत सहयोग पुगेको प्रमुख जिल्ला अधिकारी निरौलाले बताए ।
यसअघि सूचना तथा सञ्चारमन्त्री डा. बिक्रम तिमिल्सिनाले नेपाल टेलिकमलाई तत्काल बडीमालिका क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा विस्तारका लागि आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए । । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले यसअघि धनगढीमा चुनावी अभियानका क्रममाबडीमालिकालाई ‘नेपालको स्विट्जरल्यान्ड’ भनेर उल्लेख गरेपछि पनि यो क्षेत्र थप चर्चामा आएको स्थानीयहरुको भनाई छ ।
समुद्री सतहबाट ४ हजार २ सय मिटर उचाईमा अवस्थित भू–स्वर्ग बडीमालिका प्राकृतिक सुन्दरताले भरिपूर्ण मात्रै नभई धार्मिक आस्थाको पनि अद्भुत संगम हो । यहाँको दर्शनले मनोकांक्षा पूरा हुने, रोग निको हुने, पुत्र प्राप्ति हुने लगायतका धार्मिक विश्वासहरू प्रचलित छन् ।
मनमोहक त्रिवेणी क्षेत्र, २२ पाटन, ती फाँटमाथि फुलेका रङ्गीचङ्गी फूल, खेतीबेती, विष्णुपानी, धर्मद्वार बडिमालिका क्षेत्रका प्रसिद्ध स्थल हुन् ।