धनगढी : रसुवा–भोटेकोसी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकका लागि धनगढी उपमहानगरपालिका–२ ले राहत संकलन अभियान सञ्चालन गरी आर्थिक तथा जिन्सी सहयोग हस्तान्तरण गरेको छ।
धनगढी उपमहानगरपालिका वडा नं. २ को कार्यालयको आयोजनामा नेपाल रेडक्रस सोसाइटी बैयाँबेहडी उपशाखा र बैयाँबेहडी युवा क्लबको समन्वय तथा सहकार्यमा सञ्चालन गरिएको राहत संकलन अभियानअन्तर्गत संकलित रकम तथा राहत सामग्री शनिबार एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो।
अभियानबाट संकलित ६० हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ। यस्तै, संकलित राहत सामग्री धनगढी उपमहानगरपालिका वडा नं. २ का अध्यक्ष धर्मराज ओझाले नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखालाई हस्तान्तरण गरेको हो ।
राहत सामग्रीअन्तर्गत २५ किलोका ७२ कट्टा चामल, २२ पेटी चाउचाउ, ५ पेटी खाने तेल, २ कट्टा दाल, बालबालिकाका १२ जोर चप्पल, महिलाका १२ जोर चप्पल, १३ थान डसना, १० थान मोटो तन्ना, ७ थान ब्ल्याङ्केट, ८ थान सिरानी लगायत भुजा, चिउरा, सोयाबिनलगायतका खाद्यान्न तथा आवश्यक सामग्री संकलन गरिएको नेपाल रेडक्रस सोसाइटी बैयाँबेहडी उपशाखाका सदस्य राजेन्द्र रैकाले जानकारी दिए।
विपद्को समयमा बाढी प्रभावित परिवारलाई तत्काल राहत तथा सहयोग पु¥याउने उद्देश्यले अभियान सञ्चालन गरिएको आयोजकले जनाएको छ। स्थानीय तह, रेडक्रस तथा युवाको सहकार्यमा गरिएको यस अभियानले विपद्का बेला मानवीय सहयोग र सामाजिक एकताको महत्वपूर्ण सन्देश दिएको छ।
राहत सामग्री नेपाल रेडक्रस सोसाइटीमार्फत बाढी प्रभावित क्षेत्रमा पु¥याइने बताइएको छ। अभियानमा सहयोग गर्ने सम्पूर्ण दाताप्रति आयोजकले धन्यवादसमेत व्यक्त गरेको छ।