धनगढी–खुटिया–दिपायल–चैनपुर–उरैभञ्ज्याङ फास्ट ट्याक निर्माणको नयाँ टेन्डर अघि बढाइयो

डोटी  : सरकारले धनगढी–खुटिया–दिपायल–चैनपुर–उरैभञ्ज्याङ सडक आयोजना अन्तर्गत डोटी खण्डको सडक स्तरोन्नति तथा संरचनागत कामका लागि टेन्डर प्रक्रिया अघि बढाएको छ।

सडक विभाग अन्तर्गतको धनगढी–खुटिया–दिपायल–चैनपुर–उरैभञ्ज्याङ सडक आयोजनाले चेनिज ५३ हजार ८०० देखि ६५ हजारसम्मको सडकलाई कालोपत्रे सडक सतह तथा संरचनागत कार्यसहित स्तरोन्नति गर्न आज असोज १ गते विहिबार बोलपत्र आह्वान गरेको हो।

नेपाल सरकारबाट विनियोजित बजेटअन्तर्गत हुने उक्त कामका लागि आयोजनाले बोलपत्र आह्वान सूचना नं. ०१–DKDRP०८३\८४ जारी गरेको छ।
राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्रअन्तर्गत एक चरण, दुई खाम विधिबाट ठेक्का प्रक्रिया अघि बढाइएको छ। योग्य निर्माण व्यवसायीले प्राविधिक र मूल्यसम्बन्धी छुट्टाछुट्टै खाममा बोलपत्र पेश गर्नुपर्नेछ।

बोलपत्रमा सहभागी हुन पछिल्लो १० वर्षभित्रका उत्कृष्ट तीन आर्थिक वर्षको औसत वार्षिक निर्माण कारोबार कम्तीमा ४३ करोड रुपैयाँ हुनुपर्नेछ। त्यस्तै, समान प्रकृति तथा आकारको काममा कम्तीमा ४२ करोड ६० लाख रुपैयाँ बराबरको कार्य अनुभव आवश्यक तोकिएको छ।

बोलपत्रसम्बन्धी कागजात खरिदका लागि योग्य बोलपत्रदाताले कम्पनी वा फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपिसहित लिखित आवेदन दिनुपर्नेछ। कागजातका लागि २० हजार रुपैयाँ फिर्ता नहुने दस्तुर तोकिएको छ। उक्त रकम राष्ट्रिय वाणिज्य बैंक, डोटीमा रहेको आयोजनाको राजस्व खातामा जम्मा गर्नुपर्नेछ।
आयोजनाले २०८३ असोज १५ गते ९१ अक्टोबर २०२६० दिउँसो १२ बजे गोदावरी, कैलालीस्थित आयोजना साइट कार्यालयमा बोलपत्र पूर्व बैठक राखेको छ। बोलपत्र भने २०८३ असोज २२ गते ९८ अक्टोबर २०२६० दिउँसो १२ बजेसम्म पेश गर्नुपर्नेछ।

पेश भएका बोलपत्र सोही दिन दिउँसो १ बजे बोलपत्रदाताका प्रतिनिधिको उपस्थितिमा खोलिने आयोजनाले जनाएको छ। बोलपत्र पेश गर्ने अन्तिम मितिदेखि १२० दिनसम्म बोलपत्र मान्य रहनेछ।

बोलपत्रसँग कम्तीमा २ करोड रुपैयाँको बोलपत्र जमानत (बैंक ग्यारेन्टी) पेश गर्नुपर्नेछ। जमानतको अवधि बोलपत्रको मान्य अवधिभन्दा थप ३० दिन कायम हुनुपर्ने व्यवस्था गरिएको छ। इ–बोलपत्रको हकमा बोलपत्र जमानतको स्क्यान गरिएको प्रतिलिपि एम्ँ मा पेश गर्न सकिने सूचनामा उल्लेख छ।
आयोजनाले बोलपत्र खरिद वा पेश गर्ने अन्तिम मिति सरकारी बिदा परेमा त्यसपछिको पहिलो कार्यालय खुलेको दिनलाई अन्तिम मिति मानिने स्पष्ट पारेको छ। त्यस्तो अवस्थामा बोलपत्र तथा जमानतको मान्य अवधि भने मूल रूपमा तोकिएको अन्तिम मितिअनुसार नै कायम रहनेछ।

यस सडक खण्डको स्तरोन्नति कार्य अघि बढेसँगै सुदूरपश्चिमका पहाडी जिल्लालाई तराईसँग जोड्ने धनगढी–खुटिया–दिपायल–चैनपुर–उरैभञ्ज्याङ सडकको महत्वपूर्ण खण्ड निर्माण प्रक्रिया थप औपचारिक चरणमा प्रवेश गरेको छ। आयोजनाले थप जानकारी तथा बोलपत्रसम्बन्धी कागजात निरीक्षणका लागि गोदावरी, कैलालीस्थित साइट कार्यालयमा सम्पर्क गर्न सकिने जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.