आठ बर्ष अघि निर्माण सुरु गरिएको अत्तरियाको खेल पूर्वाधार योजना अलपत्र

आकाश कार्की
अत्तरिया  : कैलालीको अत्तरिया स्थित दुर्गालक्ष्मी सामुदायिक वन क्षेत्रमा बनाउने भनिएको खेल पुर्वाधार (रङ्गशाला) निर्माणको योजना बीचमै अलपत्र परेको छ । गोदावरी नगरपालिका वडा नं २ स्थित सो वन क्षेत्रमा रङ्गशाला वनाउने योजना अन्तर्गत नगरपालिकाले यस अघि घेरबार नै गरेको थियो । तर बाँकी निर्माणको काम अघी नबढ्दा ठूलो क्षेत्रफलमा गरीएको घेरबार समेट जीर्ण बन्न पुगेको छ ।
८ वर्षअघि निर्माण सुरु गरिएको गोदावरी नगरपालिका स्तरीय खेलमैदान रङ्गशालाले पूर्णता पाउन सकेको छैन । खेलकुदको विकास गर्ने उद्देश्यले सुरु गरिएको योजना लामो समयदेखि अलपत्र अवस्थामा रहँदा स्थानीयवासी तथा खेलप्रेमीहरू निराश बनेका छन् ।

सामुदायिक वनको क्षेत्रमा खेलकुद विकासका लागि रङ्गशाला निर्माण गर्ने भन्दै आवश्यक क्षेत्रफल छुट्याइएको थियो । त्यसबेला नगर क्षेत्रमा कवर्डहल बन्ने भएपछि स्थानीयवासी उत्साहित भएका थिए । सो योजना निर्माणपछि विभिन्न खेलका खेलाडी उत्पादन हुने, स्थानीय स्तरमा खेलकुदका गतिविधि बढ्ने तथा नगरको खेलकुद क्षेत्रले गति लिने अपेक्षा गरिएको थियो । तर, निर्माण कार्य सुरु भएको ८ वर्ष बितिसक्दा पनि योजनाले पूर्णता पाउन सकेको छैन ।

कवर्डहल निर्माणका लागि छुट्याइएको क्षेत्रमा पक्की पर्खाल निर्माण गरिएको छ भने चार कोठे एउटा भवन समेत निर्माण गरिएको छ । तर सो भवनमा भने अहिले कराते सिकाउने काम भैरहेको पिएफ स्पोट्र्स क्लबमा सस्थापक सन्तोष भट्टले दाबी गरेका छन् । सो भवन क्लवको सचिवालय समेत रहेको भट्टले बताए । तर निर्माण कार्य अघि नबढ्दा कवर्डहल निर्माणस्थल अहिले गौ चरण बनेको स्थानीयहरू बताउँछन् ।

स्थानीय मिलन बहादुर कामी भन्छन् खेलकुद विकासका लागि उक्त क्षेत्रमा कवर्डहल निर्माण गर्ने भन्दै क्षेत्रफल छुट्याइएको थियो । त्यसबेला स्थानीय नगरवासीमा निकै उत्साह देखिए पनि लामो समयसम्म निर्माण कार्य अघि नबढेपछि अहिले निराशा छाएको उनको भनाइ छ । निर्माण स्थलमा लगाइएको इट्टा समेत चोरी भएको उनले बताए । कवर्डहल निर्माण भएपछि स्थानीय स्तरमा खेलाडी उत्पादन हुने र खेलकुदका गतिविधि बढ्ने अपेक्षा थियो । तर अहिले निर्माण स्थलको अवस्था हेर्दा निरास लाग्छ । उनले रोकिएको निर्माण कार्य तत्काल पुनः सञ्चालन गरी स्थानीय खेलाडी तथा युवाहरूका लागि खेलकुद गतिविधि सञ्चालन गर्न आवश्यक पूर्वाधार र सुविधा उपलब्ध गराउन तीनै तहका सरकारसँग आग्रह गरेका छन् ।

यस्तै अर्का स्थानीय लोकेश नाथका अनुसार उक्त क्षेत्रमा बृहत् खेलकुद गतिविधि सञ्चालन गर्ने योजना अनुसार कवर्डहल निर्माण सुरु गरिएको थियो । तर निर्माण कार्य बीचमै रोकिएपछि त्यसको कारणबारे स्थानीयलाई समेत स्पष्ट जानकारी नभएको उनले बताए । बृहत् रूपमा खेलकुदका गतिविधि सञ्चालन गर्ने उद्देश्यले कवर्डहल निर्माण सुरु गरिएको थियो ।
तर अहिले किन रोकियो, के कारणले रोकियो भन्ने स्पष्ट छैन । निर्माण कार्य अघि बढ्न नसक्दा उद्देश्य नै अधुरो बनेको छ, नाथले भने ।

लामो समयदेखि अलपत्र अवस्थामा रहेको कवर्डहल निर्माण कार्य पुनः सुरु गर्न सके स्थानीय खेलाडी, युवाहरू तथा खेलप्रेमीलाई प्रत्यक्ष लाभ पुग्ने स्थानीयको अपेक्षा छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.