अत्तरिया:- गोदावरी नगरपालिका–२ अत्तरिया स्थित दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयले विद्यार्थीलाई धुम्रपान तथा मदिराजन्य पदार्थ बिक्री–वितरण नगर्न होटल तथा नास्ता पसल व्यवसायीलाई आग्रह गरेको छ।
विद्यालयले बुधबार होटल तथा नास्ता पसल व्यवसायीका नाममा पत्र जारी गर्दै विद्यालय सञ्चालन भइरहेको समयमा विद्यालयको पोसाकमै रहेका विद्यार्थी तथा अन्य विद्यालयका विद्यार्थीलाई समेत धुम्रपान र मदिराजन्य पदार्थ बिक्री–वितरण नगर्न तथा नगराउन अनुरोध गरेको हो।
विद्यालयका प्रधानाध्यापक वीर सिंह महताद्वारा जारी पत्रमा अत्तरिया क्षेत्रका केही होटल तथा नास्ता पसल व्यवसायीले विद्यालय चलिरहेको समयमा विद्यालय पोसाक लगाएका विद्यार्थीलाई धुम्रपान तथा मदिराजन्य पदार्थ बिक्री–वितरण गरेको र होटलमा बसाएर यस्ता पदार्थको कारोबार गरेको भन्दै अभिभावकबाट लिखित गुनासो आएको उल्लेख गरिएको छ।
विद्यालयले यस्ता गैरकानुनी गतिविधि नगर्न तथा नगराउन व्यवसायीलाई आग्रह गर्दै बालबालिकाको उज्ज्वल भविष्य निर्माणका लागि आ–आफ्नो क्षेत्रबाट सहयोग गरिदिन समेत अनुरोध गरेको छ।
विद्यालयले उक्त विषयमा निगरानी तथा आवश्यक सहयोगका लागि मालाखेती इलाका प्रहरी कार्यालय, अत्तरिया, उद्योग वाणिज्य संघ अत्तरिया र होटल व्यवसायी संघ अत्तरियालाई समेत पत्राचार गरेको जनाएको छ।
विद्यालयले विद्यार्थीको स्वास्थ्य, अनुशासन र भविष्यमा प्रतिकूल असर पार्ने गतिविधि रोक्न सम्बन्धित सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गरेको छ।