विद्यालय स्तरीय नृत्य मञ्च एकल नृत्य प्रतियोगीताको ग्रान्ड फाइनलमा १२ प्रतियोगी छनोट

अत्तरिया :- कैलालीको अत्तरियामा सञ्चालन भइरहेको विद्यालय स्तरीय एकल नृत्य प्रतियोगिता नृत्य मञ्च–२०८३ को सेमिफाइनल चरण सम्पन्न भएको छ। सेमिफाइनलबाट उत्कृष्ट प्रदर्शन गरेका १२ जना प्रतियोगी ग्रान्ड फाइनलका लागि छनोट भएका छन्।

द डान्स सर्कल र गुरुकुल डान्स एन्ड फिटनेस स्टुडियोको संयुक्त आयोजनामा भइरहेको प्रतियोगितामा कैलाली र कञ्चनपुरका २४ विद्यालयका विद्यार्थीको सहभागिता रहेको छ। ‘प्रतिभाको सम्मान, नृत्यको पहिचान’ भन्ने नारा सहित आयोजना गरिएको प्रतियोगिताको उद्देश्य विद्यालय तहमा रहेका नृत्य प्रतिभाको पहिचान गरी उनीहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्नु रहेको आयोजकले जनाएको छ।

शनिबार सम्पन्न क्वार्टरफाइनल पार गर्दै सेमिफाइनलमा ३४ जना विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए। विद्यार्थीमा लुकेका प्रतिभालाई उजागर गर्दै उनीहरूको व्यक्तित्व विकासमा सहयोग पुर्‍याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको द डान्स सर्कलका सञ्चालक तथा नृत्य प्रशिक्षक लोकेश बोहराले बताए।

ग्रान्ड फाइनलमा सत्यवती एकेडेमीका रुजुम बीके, करुणा खड्का र डीजी बोहरा, पुष्पाञ्जली माध्यमिक विद्यालयका पृतम बोहरा र अनुष्का बीके, एभरेस्ट एकेडेमीका अनिका बिष्ट, अलिशा ऐर र बबिता कुँवर, दुर्गाज्योति माध्यमिक विद्यालयकी पायल कोली, एपेक्स एकेडेमीकी काजोल खड्का, ज्ञानज्योति माध्यमिक विद्यालयकी चित्रशी बोहरा र गोदावरी पब्लिक स्कुलकी इशिका पुजारा छनोट भएका छन्।

प्रतियोगितामा प्रथम हुनेले रु. २० हजार १०५, द्वितीय हुनेले रु. १५ हजार १०५ र तृतीय हुनेले रु. १० हजार १०५ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ। प्रतियोगिताको फाईनल असाेज २४ गते हुने भएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.