गोदावरी नगरपालिकाको बजार अनुगमनमा ३० किलो मिसावट अखाद्य दाल बरामद

अत्तरिया :-  कैलालीको गोदावरी नगरपालिकाले चाडपर्वलाई लक्षित गर्दै सञ्चालन गरेको बजार अनुगमनका क्रममा शुक्रबार विभिन्न होटल तथा किराना पसलबाट अखाद्य तथा म्याद नाघेका खाद्य वस्तु बरामद गरेको छ।

अनुगमनका क्रममा अत्तरिया बजारको पूर्वरोड, बनखेत, लालपुर र स्याउले बजार क्षेत्रका विभिन्न पसल तथा होटलको निरीक्षण गरिएको थियो। सो क्रममा विभिन्न पसलबाट म्याद नाघेका तथा अखाद्य खाद्य वस्तु बरामद गरिएको नगरपालिकाले जनाएको छ। यस्तै गोदावरी नगरपालिका–८ स्थित स्याउले बजारको एक पसलबाट भारतीय कम्पनीको मिसावट युक्त ३० किलो अखाद्य दाल बरामद गरी नष्ट गरिएको जनाइएको छ।

तीन दिनसम्म गरिएको बजार अनुगमनका क्रममा होटल तथा पसलहरूबाट प्लास्टिकका चपिङ बोर्ड (कटिङ बोर्ड), म्याद सकिएका मसला, अखाद्य आइसक्रिम, अखाद्य रङ मिसाइएको मासुलगायत विभिन्न खाद्य सामग्री बरामद गरिएको छ। बरामद गरिएका अखाद्य तथा म्याद नाघेका सामग्री जफत गरी नष्ट गरिएकाे हाे।

गोदावरी नगरपालिका आर्थिक विकास शाखाका प्रमुख समुद्र धामीले उपभोक्ताको हित संरक्षण गर्ने उद्देश्यले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि चाडपर्व लक्षित बजार अनुगमनलाई निरन्तरता दिइएको बताए। उनले बजार अनुगमनलाई निरन्तरता दिँदै आगामी दिनमा थप कडाइका साथ छड्के अनुगमन गरिने जानकारी दिए। चाडपर्वका समयमा हुन सक्ने अवैध कारोबार तथा अखाद्य र म्याद नाघेका वस्तुको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिइएको धामीले बताए।


नगरपालिकाले व्यापारीहरूलाई म्याद नाघेका तथा अखाद्य वस्तु बिक्री–वितरण नगर्न चेतावनी दिएको छ। त्यस्ता सामग्री बिक्री–वितरण गरेको पाइएमा जफत गरी प्रचलित कानुनअनुसार कारबाही गरिने नगरपालिकाले जनाएको छ। त्यस्तै, नगरपालिकाले उपभोक्तालाई पनि सामान खरिद गर्दा उपभोग्य मिति अनिवार्य रूपमा जाँच गरेर मात्र खरिद गर्न तथा म्याद नाघेका खाद्य वस्तुको प्रयोग र खरिदप्रति सचेत रहन आग्रह गरेको छ।

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.