अत्तरियाको दुर्गा लक्ष्मी नमुना माविले प्रदेशस्तरीय तथा नगरस्तरीय भलिबल प्रतियोगिता आयोजना गर्दै

सहभागी टिमलाई विद्यालयमै बसोबासको व्यवस्था गराइने

अत्तरिया:- कैलालीको अत्तरिया स्थित दुर्गा लक्ष्मी नमुना माध्यमिक विद्यालयले विद्यालय स्तरीय अन्डर–१९ प्रथम सुदूरपश्चिम प्रदेश स्तरीय छात्र तथा गोदावरी नगरपालिका स्तरीय छात्रा भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ।

विद्यालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै आगामी कार्तिक १४ गते देखि प्रतियोगिता सञ्चालन गर्ने जानकारी दिएको हो।

प्रतियोगितामा कक्षा १२ सम्म अध्ययनरत तथा १९ वर्षभन्दा कम उमेरका विद्यार्थी खेलाडीहरू सहभागी हुन पाउने आयोजकले जनाएको छ।

सम्मेलन मार्फत् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिदत्त भट्टराईले विद्यालय-विद्यालयबीच खेलकुदका माध्यमबाट सहकार्य र सम्बन्ध विस्तार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए। प्रतियोगिता अन्तर्गत सुदूरपश्चिम विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकाससँगै उनीहरूमा रहेको खेल प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए। विद्यार्थीहरू खाली समयमा कुलतमा लाग्न सक्ने सम्भावनालाई खेलकुदका माध्यमबाट न्यूनीकरण गर्न समेत प्रतियोगिताले सहयोग पुग्ने उनको विश्वास व्यक्त गरे। विद्यालयले विभिन्न खेल विधाका प्रशिक्षकहरू राखेर खेलकुदका गतिविधिलाई प्राथमिकताका साथ अगाडि बढाइरहेको अध्यक्ष भट्टराईले जानकारी दिए। प्रतियोगितामा सहभागी टिमका खेलाडीहरूलाई विद्यालयमै बसोबासको व्यवस्था मिलाइने समेत जनाइएको छ।

यस्तै दुर्गा लक्ष्मी नमुना मावि अतिरिक्त क्रियाकलाप समिति संयोजक तथा प्रदेश स्तरीय भलिबल प्रतियोगिता संयोजक सुरेश सिंह धामीले प्रदेशस्तरीय छात्र भलिबलतर्फ प्रथम हुने टिमले १ लाख ५१ हजार १११ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरिने जानकारी दिए। यस्तै दोस्रो हुने टिमलाई ७५ हजार १११ रुपैयाँ तथा तेस्रो हुने टिमलाई ३२ हजार १११ रुपैयाँ सहित मेडल र प्रमाणपत्र प्रदान गरिने भएकाे छ। छात्रतर्फको दर्ता शुल्क ७ हजार रुपैयाँ निर्धारण गरिएको जानकारी दिए। गोदावरी नगरपालिका स्तरीय छात्रा भलिबल प्रतियोगितामा प्रथम हुने टिमले ५१ हजार १११ रुपैयाँ, दोस्रो हुनेले २५ हजार १११ रुपैयाँ र तेस्रो हुनेले १२ हजार १११ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। प्रथम, दोस्रो र तेस्रो हुने टिमलाई ट्रफी, मेडल तथा प्रमाणपत्र समेत प्रदान गरिने जनाएको छ। छात्रा प्रतियोगिताको दर्ता शुल्क ३ हजार रुपैयाँ तोकिएको छ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई समेत नगद पुरस्कारको व्यवस्था गरिएको संयाेजक धामीले जानकारी दिएका छ्न्। प्रतियोगिता नकआउट प्रणालीमा सञ्चालन हुनेछ। सुदूरपश्चिम प्रदेशभरिका सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई छात्र तर्फको प्रतियोगितामा सहभागी हुन पाउने जनाएको छ।

सम्मेनलनमा विद्यालयका प्रधानाध्यापक वीर सिंह महताले विद्यालयहरूसँग जोडिने प्रभावकारी माध्यम खेलकुद भएकाले प्रतियोगिता आयोजना गर्ने भएको बताए। विद्यालय स्तरबाटै प्रतिभावान खेलाडीको पहिचान गरी राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने लक्ष्य विद्यालयले राखेको बताए। प्रतियोगितामार्फत भलिबल खेलको प्रवर्द्धन तथा विकाससँगै उत्कृष्ट खेलाडीको पहिचान गर्न सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.