अत्तरिया : कैलालीको अत्तरिया अस्पतालले नवजीवन सहकारी संस्था लिमिटेडका सदस्यहरुलाई उपचारमा विशेष छुट दिने भएको छ । अत्तरिया स्थित अत्तरिया अस्पतालमा नवजीवन सहकारी संस्था लिमिटेडका शेयर सदस्य तथा उनीहरूका परिवारका सदस्यले उपचार गराउँदा विभिन्न स्वास्थ्य सेवामा विशेष छुट पाउने भएका छन् ।
यससम्बन्धी सम्झौतामा शुक्रबार नवजीवन सहकारी र अत्तरिया अस्पतालबीच हस्ताक्षर भएको हो । सम्झौताअनुसार २०८३ असोज १६ गतेदेखि २०८४ असोज १५ गतेसम्म सहकारीका सदस्य तथा परिवारका सदस्यले छुट सुविधा पाउनेछन् ।
सम्झौतामा सहकारीका अध्यक्ष गोपाल राज पाठक, महाप्रबन्धक प्रदिप राज जोशी र अत्तरिया अस्पतालका प्रबन्ध निर्देशक डा। पारश पन्तले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार ओपीडी टिकटमा ५० प्रतिशत, जनरल बेड तथा क्याबिनमा १५ प्रतिशत, आईसीयू तथा एनआईसीयू बेडमा १० प्रतिशत छुट दिइनेछ । यस्तै, जनरल सर्जरी, अर्थोपेडिक तथा गाइनोकोलोजी सेवामा ८ प्रतिशत, प्याथोलोजी परीक्षणमा १५ प्रतिशत, भिडियो एक्सरे तथा एक्सरेमा १० प्रतिशत, इको, इन्डोस्कोपी तथा ईसीजीमा २० प्रतिशत र औषधिमा ६ प्रतिशत छुटको व्यवस्था गरिएको छ । छुट सुविधा लिन सदस्यले आफ्नो सदस्यता प्रमाणपत्र वा परिचयपत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ । अन्य प्याकेज, बीमा, सरकारी वा संस्थागत छुट सुविधा लिइरहेको अवस्थामा भने दोहोरो छुट लागू नहुने सम्झौतामा उल्लेख छ ।
सहकारीका अध्यक्ष गोपाल राज पाठकले वार्षिक कार्यक्रमअन्तर्गत शेयर सदस्यलाई राहत प्रदान गर्ने उद्देश्यले सम्झौता गरिएको बताए । उनले सदस्यसँगै उनीहरूका परिवारका सदस्यलाई समेत सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य रहेको बताए ।
अत्तरिया अस्पतालका प्रबन्ध निर्देशक डा. पारश पन्तले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नवजीवन सहकारीसँग स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता गरिएको बताए । उनले सम्झौताबाट सहकारीका शेयर सदस्यलाई स्वास्थ्य सेवामा प्रत्यक्ष लाभ पुग्ने बताए ।