अत्तरिया : धनगढीमा चट्याङ लागेर ७ जना घाइते भएका छन्। धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा मंगलबार राति घरको छतमा जन्मदिन मनाइरहेका बेला चट्याङ लागेर उनीहरू घाइते भएका हुन्।
प्रहरीका अनुसार स्थानीय खुशिलाल चौधरीको घरको छतमा जन्मदिन मनाइरहेका बेला राति करिब साढे ९ बजे घरनजिकै चट्याङ परेको थियो। चट्याङको झिल्काले ३५ वर्षीया आरती चौधरी, १७ वर्षीया आयुसरा चौधरी, १३ वर्षीया सृष्टि चौधरी, ५५ वर्षीया बागमती चौधरी, ७ वर्षीय सिसिर चौधरी, १४ वर्षीया रेनुका चौधरी र ३५ वर्षीया जानकी चौधरी घाइते भएका हुन्।
घाइते सबैलाई राति नै उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएको थियो। उनीहरूको अस्पतालमा उपचार भइरहेको र सबैको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।