धनगढी : युवा साहित्यकार तथा पत्रकार पुष्पराज जोशी ‘पुकार’ कर्मयोगी बद्रीविक्रम पूर्णिमा युवा प्रतिभा पुरस्कार २०८२ बाट सम्मानित हुने भएका छन् । लुम्बिनी प्रदेशकै अग्रणी साहित्यिक संस्था हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान, कोहलपुर बाँकेले जोशीलाई नगद पुरस्कारसहित सम्मानित गर्न लागेको हो ।
प्रतिष्ठानले शनिबार कोहलपुरस्थित पार्टी प्यालेसमा आयोजना गर्ने विशेष समारोहमा जोशीसहित विभिन्न विधाका चार जना साहित्यकारलाई सम्मान तथा पुरस्कृत गर्ने कार्यक्रम रहेको छ ।
कार्यक्रममा कर्मयोगी बद्रीविक्रम पूर्णिमा युवा साहित्य पुरस्कार २०८३ बाट साहित्यकार निरञ्जना चन्द ‘निरु’, कर्मयोगी बद्रीविक्रम पूर्णिमा वाङ्मय पुरस्कार २०८२ बाट साहित्यकार मुस्तफा अहसन कुरेसी र कर्मयोगी बद्रीविक्रम पूर्णिमा वाङ्मय पुरस्कार २०८३ बाट साहित्यकार विजयराज आचार्य पुरस्कृत हुने भएका छन् ।
साहित्य सिर्जना र पत्रकारितामा सक्रिय जोशीको २०७२ सालमा मुक्तक सङ्ग्रह ‘शब्दछाल’ प्रकाशित भएको थियो । उनका विभिन्न फुटकर कविता, गजल तथा मुक्तकसमेत विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् ।
साहित्यिक सिर्जनामार्फत नेपाली भाषा र साहित्यको क्षेत्रमा योगदान पुर्याउँदै आएका जोशीलाई प्रदान गरिने पुरस्कारले युवा साहित्यिक प्रतिभाको पहिचान र प्रोत्साहनमा योगदान पुग्ने अपेक्षा गरिएको छ । यसैबीच, उक्त समारोहमा साहित्यकार पुष्कर रिजालको कविता सङ्ग्रह ‘धरहराको बकपत्र’ समेत विमोचन गरिने कार्यक्रमसमेत रहेको छ । कार्यक्रममा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साहित्यकारको उपस्थिति रहने छ ।