दशैँमा प्लेन टिकट नपाएपछि हेलिकप्टर चार्टर गरेर घर पुगे भक्तराज

अत्तरिया  : कञ्चनपुरका भक्तराज भट्ट हेलिकप्टर चार्टर गरेर काठमाडौंबाट घर पुगेका छन् । एक दशकदेखि इङ्ल्यान्डमा बस्दै आएका भीमदत्त नगरपालिका–६, एटपुरका भट्ट मंगलबार हेलिकप्टर चार्टर गरेर काठमाडौंबाट महेन्द्रनगर पुगेका हुन् ।

दशैँका बेला हवाई यात्रुको चाप बढेसँगै नियमित उडानको टिकट नपाएपछि उनले हेलिकप्टर चार्टर गरेर घर जाने विकल्प रोजेका हुन् । भट्टकी आमा बिरामी रहेकाले पनि उनी घर पुग्न हतारिएका थिए ।

भट्टकी भाञ्जी सहाना भट्टका अनुसार काठमाडौंबाट धनगढी जाने हवाई टिकट नपाएपछि उनले हेलिकप्टर चार्टर गरेरै घर जाने निर्णय गरेका हुन् ।

आमाको स्वास्थ्य अवस्था राम्रो नभएकाले उनी जसरी पनि घर पुग्न चाहन्थे । ‘मामाको आमा (हजुरआमा) बिरामी हुनुहुन्छ । काठमाडौंबाट आउन प्लेन टिकट पाइएनछ । अनि उहाँ हेलिकप्टर चार्टर गरेरै आउनुभयो,’ सहानाले भनिन् ।

उनका अनुसार भट्ट सिम्रिक एयरको हेलिकप्टर चार्टर गरेर महेन्द्रनगर पुगेका हुन् । हेलिकप्टरमा भट्टसहित चार जना महेन्द्रनगर आएका थिए । काठमाडौं–महेन्द्रनगर हेलिकप्टर चार्टर गर्न साढे १३ लाख रुपैयाँ खर्च भएको सहानाले जानकारी दिइन् ।

हेलिकप्टर लिएर गाउँ पुगेका उनलाई बाजागाजासहित स्वागत गरिएको थियो । उनी घर पुगेको भिडियो अहिले सामाजिक सञ्जालमा पनि भाइरल छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.