गोदावरी नगरमा लैङ्गिकमैत्री सेवा र बजेटमा पछाडि पारिएका समुदायलाई प्राथमिकता

अत्तरिया  : कैलालीको गोदावरी नगरपालिकाले सेवा प्रवाहलाई पारदर्शी, उत्तरदायी तथा लैङ्गिकमैत्री बनाउने उद्देश्यसहित ९ बुँदे सार्वजनिक प्रतिबद्धता जनाएको छ ।

‘लैङ्गिकमैत्री नीति तथा बजेट निर्माण र गुणस्तरीय सेवा : सेवाग्राहीको अनुभव’ विषयक सार्वजनिक सुनुवाइ तथा सामुदायिक संवाद कार्यक्रममा नगरपालिकाले उक्त प्रतिबद्धता सार्वजनिक गरेको हो ।

‘लैङ्गिक समानताका लागि निर्णय लिने तथा जवाफदेहिता र पारदर्शिताको माग गर्न महिला तथा पछाडि पारिएका समूहहरूको क्षमता सुदृढीकरण परियोजना’ अन्तर्गत युरोपेली युनियन र संयुक्त राष्ट्रसंघको आर्थिक सहयोगमा निड्स नेपाल, प्रो पब्लिकलगायत साझेदार संस्थाले नगरपालिकासँगको समन्वयमा कार्यक्रम आयोजना गरेका हुन् ।

कार्यक्रममा परियोजना संयोजक सरिता थापाले नगरपालिकाका विभिन्न वडाका ६० जना सेवाग्राहीलाई समेटेर गरिएको बहिर्गमन अभिमत सर्वेक्षणको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । असोज र कात्तिकमा गरिएको सर्वेक्षणमा महिला, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम, पुरुष तथा अपाङ्गता भएका व्यक्तिहरू सहभागी थिए । सर्वेक्षणमा सेवा प्रवाहको गुणस्तर, कर्मचारीको व्यवहार, सूचना, सेवाग्राहीको पहुँच तथा लैङ्गिक र अपाङ्गमैत्री पूर्वाधारबारे प्रतिक्रिया सङ्कलन गरिएको थियो ।

नगरपालिकाले सार्वजनिक गरेको प्रतिबद्धतामा महिला, दलित, अल्पसङ्ख्यक तथा अपाङ्गता भएका व्यक्तिको सहज पहुँचका लागि अद्यावधिक नागरिक बडापत्र र नागरिक सहायता डेस्क स्थापना गर्ने उल्लेख छ । त्यस्तै, लैङ्गिक हिंसा तथा विभेदबाट प्रभावितको पुनस्र्थापना र परामर्शका लागि नीति तथा बजेट व्यवस्था गर्ने र लक्षित वर्गको क्षमता विकास, आयआर्जन तथा रोजगारीका लागि कुल पुँजीगत बजेटको कम्तीमा ३ प्रतिशत विनियोजन गर्ने प्रतिबद्धता जनाएको छ ।

नीति निर्माणमा पछाडि पारिएका समुदाय र महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने तथा सार्वजनिक सुनुवाइ, सामाजिक परीक्षण र सूचनाको हकसम्बन्धी व्यवस्थाको पालना गर्ने पनि प्रतिबद्धतामा समेटिएको छ । उक्त प्रतिबद्धता पत्रमा नगर उपप्रमुख शारदा देवी रोकाया र प्रमुख प्रशासकीय अधिकृत डा. श्रीधर गौतमलगायतले हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा सहभागीले सेवा प्रवाहसम्बन्धी जिज्ञासा तथा गुनासा राखेका थिए भने जनप्रतिनिधि र कर्मचारीले जवाफ दिएका थिए । उपप्रमुख रोकायाले नगरपालिकालाई थप पारदर्शी, उत्तरदायी र लैङ्गिकमैत्री बनाउँदै सबै समुदायको विकासका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.