बझाङ : बझाङको केदारस्युँ गाउँपालिका–७ भामचौर नजिकै डाँडाइजर सुडेधार खोलामा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते भएका छन्।
स्थानीयबाट प्राप्त जानकारीअनुसार से ००१ च ४३७६ नम्बरको जीप ब्रेक फेल भएर बिहान ८ ः ४५ बजे दुर्घटनामा परेको हो। १५ जना काँडाचौरका स्थानीय बासिन्दालाई बोकेर बाग्थलातर्फ आउँदै गरेको जीप अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर दुर्घटनामा परेको जनाएको छ ।
दुर्घटनामा परी मृत्यु हुनेमा केदारस्युँ गाउँपालिका–७ काँडाचौरका गोपाल धामी र पवित्रा धामी रहेका छन्। उनीहरू दुवैको घटनास्थलमै मृत्यु भएको स्थानीय दलबहादुर धामीले घटनास्थलबाट जानकारी दिए।
जीपका चालक बुङ्गल नगरपालिका–२ गिरौँका मोहन धामी रहेको बताइएको छ। उक्त जीप केदारस्युँ गाउँपालिका–७ का वडाध्यक्ष चन्द्र धामीको रहेको स्थानीयले बताएका छन्।
दुर्घटनामा ६ जना गम्भीर घाइते भएको र उनीहरूको उद्धार तथा उपचारबारे थप विवरण आउन बाँकी रहेको छ। अन्य ७ जनाको अवस्था भने सामान्य रहेको जनाएको छ।