अत्तरिया : नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशमा संसदीय मर्यादा, प्रणाली र मूल्य– मान्यता कायम राख्न सभामुखलाई आग्रह गरेको छ । बजेट प्रकरणमा प्रतिपक्षलाई बेवास्ता गरिएको भन्दै कांग्रेसले संसदीय अभ्यास र परम्पराको संरक्षण गर्न सभामुखको ध्यानाकर्षण गराएको हो ।
कांग्रेस संसदीय दलको बुधबार बसेको बैठकले तत्काल प्रदेश सभा बैठक बोलाउनसमेत माग गरेको छ । संसदीय दलका नेता समेत रहेका निवर्तमान मुख्यमन्त्री कमल बहादुर शाहले सभामुख भीमबहादुर भण्डारीलाई पत्र लेख्दै संसदीय मर्यादा र प्रणाली कायम राख्न आग्रह गर्ने निर्णय भएको जानकारी गराएका छन् । यसअघि कात्तिक ९ गते बसेको कांग्रेस संसदीय दलको बैठकले बजेट प्रकरणलाई लिएर सरकारको राजीनामासमेत माग गर्ने निर्णय गरेको थियो ।
सरकारको निर्णय, अर्थमन्त्रीले प्रदेश सभा बैठकको रोस्ट्रमबाट गरेको अभिव्यक्ति र सभामुख स्वयंले समेत बजेट गलत भएको स्वीकार गरेको अवस्थामा त्यही बजेट कसरी पारित भयो भन्ने प्रश्न उठाउँदै कांग्रेसले सरकारको राजीनामा मागेको हो ।
प्रतिपक्षलाई पूर्ण रूपमा बेवास्ता गरिएको भन्दै संसदीय मर्यादा, प्रणाली र मूल्य–मान्यता कायम राख्न सभामुखलाई आग्रह गर्ने निर्णय भएको पत्रमा उल्लेख छ । त्यस्तै, संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाह र सभामुखबीच भएको भेटमा सरकारले बजेट खर्चसम्बन्धी निर्णय गरेको जानकारी आएको कांग्रेसले जनाएको छ ।
कांग्रेसका अनुसार अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले कर्मचारीको तलब र अस्पतालजस्ता अत्यावश्यक क्षेत्रको दायित्व मात्रै खर्च गर्ने तथा बाँकी सबै बजेट कार्यक्रमको खर्च रोक्न आग्रह गरेको छ ।
सर्वदलीय संसदीय समितिको प्रतिवेदन नआएसम्म र त्यसको कार्यान्वयन नभएसम्म अत्यावश्यकबाहेकका बजेट कार्यक्रम खर्च नगर्ने निर्णय प्रदेश सभामा औपचारिक रूपमा जानकारी गराउन कांग्रेसले माग गरेको छ। सरकारको निर्णय प्रदेश सभामा जानकारी गराएपछि मात्रै बजेट कार्यान्वयन र खर्चका विषयमा थप छलफल गर्न सकिने कांग्रेसको अडान छ ।
तीन महिना ढिलो गरी चालु आर्थिक वर्षको बजेट पारित भए पनि बजेट विवाद भने साम्य हुन सकेको छैन । बजेट पारित गर्नुअघि सभामुख भीमबहादुर भण्डारीले बजेटको अध्ययन गरी कात्तिक २० गतेभित्र प्रतिवेदन पेस गर्ने कार्यादेशसहित सात सदस्यीय सर्वदलीय संसदीय समिति गठन गर्ने घोषणा गरेका थिए ।