धनगढी : अत्तरियामा आज (बुधबार) देखि स्वास्थ्य महोत्सव सुरु भएको छ । स्वास्थ्य युवा महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । गोदावरी–२ तेघरीस्थित पार्टनर प्यालेसमा हुने महोत्सवको उद्घाटन आज बिहान साढे ८ बजे सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
महोत्सवमा सुदूरपश्चिम प्रदेशका सरकारी तथा निजी अस्पतालमा कार्यरत विभिन्न चिकित्सकहरूको सहभागिता रहनेछ । महोत्सव अवधिभर सहभागीहरूले निःशुल्क स्वास्थ्य परीक्षण सेवा लिन पाउनेछन् ।
स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने तथा सर्वसाधारणलाई स्वास्थ्यप्रति सचेत बनाउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । सुदूरपश्चिम प्रदेश चेम्बर अफ कमर्स र कैलाली चेम्बर अफ कमर्स र गोदावरी चेम्बर अफ कमर्सको आयोजनामा महोत्सव हुन लागेको हो ।