धनगढीमा मंसिर ८ र ९ गते ‘आरोही उद्यमी मेला’ हुँदै

धनगढी  : महिला उद्यमशीलताको प्रवर्द्धन तथा स्थानीय उत्पादनको बजारीकरण गर्ने उद्देश्यले धनगढीमा मंसिर ८ र ९ गते ‘आरोही उद्यमी मेला–२०८३’ आयोजना हुने भएको छ ।

एफसीए नेपालसहित विभिन्न संघसंस्था तथा साझेदार संस्थाहरूको सहकार्यमा आयोजना हुन लागेको मेलामा सुदूरपश्चिम प्रदेशका महिला उद्यमीहरूले उत्पादन गरेका वस्तु तथा सामग्रीको प्रदर्शनी र बिक्री गरिने एफसीए नेपालका अष्ट प्रजापतिले धनगढीमा पत्रकार सम्मेलन गरेर जानकारी दिए ।

धनगढीस्थित होटल रुबसमा आयोजना हुने मेलाले महिला उद्यमीहरूलाई आफ्ना उत्पादन तथा व्यवसाय प्रदर्शन गर्ने, सम्भावित ग्राहकसम्म पुग्ने र नयाँ बजार तथा व्यावसायिक सञ्जालसँग जोडिने अवसर प्रदान गर्ने आयोजकले जनाएको छ ।

मेलामा सुदूरपश्चिमका महिला उद्यमीहरूका करिब ३० वटा स्टल रहनेछन् । स्टलमार्फत मह, झोला, हस्तकलाका सामग्री, स्थानीय तथा परम्परागत उत्पादन र खाद्य सामग्रीलगायत विभिन्न वस्तु प्रदर्शनी तथा बिक्रीका लागि राखिनेछन् ।

मेलाले स्थानीय उत्पादनको पहिचान र बजार पहुँच विस्तार गर्नुका साथै महिला उद्यमीबीच अनुभव आदानप्रदान, सहकार्य तथा व्यावसायिक सम्बन्ध विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यसैगरी, मंसिर ९ गते मेलासँगै एफसीए नेपालद्वारा सञ्चालित ‘आरोही स् मेन्टरसिप, सीप विकास र सहकार्यमा आधारित महिला उद्यमशीलताको प्रवर्द्धन’ कार्यक्रमअन्तर्गत सुदूरपश्चिम समूहको छमहिने मेन्टरसिप कार्यक्रमको औपचारिक समापन समारोहसमेत आयोजना गरिनेछ ।

उक्त कार्यक्रममार्फत महिला उद्यमीहरूलाई अनुभवी मेन्टरसँग आबद्ध गरी व्यक्तिगत मार्गदर्शन, सीप विकास, ज्ञान आदानप्रदान तथा व्यावसायिक विकासका अवसर प्रदान गरिएको थियो ।

समापन समारोहमा सहभागी महिला उद्यमीहरूले आफ्नो छ महिने यात्राका उपलब्धि, अनुभव तथा सिकाइ आदानप्रदान गर्नुका साथै आगामी व्यावसायिक सम्भावनाबारे छलफल गरिने प्रजापतिले जानकारी दिए ।

कार्यक्रम फिनल्याण्डस्थित परराष्ट्र मन्त्रालय र वुमेन्स बैंकको सहयोगमा सञ्चालन हुँदै आएको आयोजकले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.