अत्तरिया : सुदूरपश्चिम प्रदेशसभाका केही सदस्यले प्रदेश राजधानी धनगढीमै निजी घर हुँदाहुँदै पनि प्रदेशसभा सचिवालयबाट मासिक आवास सुविधा लिइरहेको पाइएको छ।
प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७५ ले गरेको व्यवस्थाको मर्मविपरीत तीन जना सांसदले आवासबापतको रकम बुझ्दै आएका हुन्।
आवास सुविधा लिनेमा नेपाली कांग्रेसका दुई र नेकपा एमालेका एक सांसद छन्। कांग्रेस सांसद डम्मरी महरा, पूर्वराज्यमन्त्रीसमेत रहेका प्रकाशबहादुर बम र एमाले संसदीय दलकी उपनेता तथा अहिले सामाजिक विकासमन्त्री सन्तोषकुमारी थापाले मासिक १७ हजार रुपैयाँका दरले आवास सुविधा लिएको प्रदेशसभा सचिवालयको विवरणले देखाएको छ।
प्रदेशसभा सचिवालयबाट प्राप्त विवरणअनुसार तीनै जनाको घर धनगढीमै छ। सांसद प्रकाश बमको घर धनगढी उपमहानगरपालिका–५, हसनपुरमा छ। प्रदेशसभा सचिवालयबाट उनको निजी निवासको दूरी करिब एक किलोमिटर मात्रै छ। उनले गत आर्थिक वर्षमा राज्यमन्त्री पदबाट फिर्ता भएपछि अर्थात् २०८३ जेठ २५ देखि आवास सुविधासहित धारा, बिजुली, सञ्चार, अतिथि सत्कार र पारिश्रमिक गरी एक लाख दुई हजार छ सय रुपैयाँ बुझेका थिए।
कांग्रेस सांसद डम्मरी महराको घर धनगढी–३, केदार टोलमा छ। प्रदेशसभा सचिवालयबाट बढीमा तीन किलोमिटरको दूरीमा घर भए पनि उनले सांसद भएदेखि नै आवास सुविधा लिँदै आएको सचिवालयले जनाएको छ। आर्थिक वर्ष २०८२–८३ मा मात्रै उनले मासिक १७ हजारका दरले ४३ महिनाको आवास सुविधाबापत सात लाख ३१ हजार रुपैयाँ बुझेकी थिइन्। सोही आर्थिक वर्षमा आवास, धारा, बिजुली, सञ्चार, अतिथि सत्कार र पारिश्रमिकसहित उनले कुल १० लाख ८२ हजार पाँच सय रुपैयाँ प्राप्त गरेको सचिवालयको विवरणमा उल्लेख छ।
त्यस्तै, एमाले संसदीय दलकी उपनेता तथा सामाजिक विकास सन्तोष थापाको घर पनि धनगढी–५, पिपल चौतारामा छ। प्रदेशसभा सचिवालयबाट उनको घर करिब डेढ किलोमिटरको दूरीमा पर्छ। सांसद भएदेखि नै प्रदेश राजधानीमा आफ्नो घर नभएको विवरण पेस गरेर उनले आवास सुविधा लिँदै आएको सचिवालयले जनाएको छ। गत आर्थिक वर्षमा उनले पनि आवाससहित अन्य सुविधा र पारिश्रमिक गरी १० लाख ८२ हजार पाँच सय रुपैयाँ बुझेकी थिइन्।
प्रदेशसभाको पहिलो कार्यकालमा पनि राजधानीमै घर भएका सांसदले आवास सुविधा लिएको विषय विवादमा आएको थियो। तत्कालीन कांग्रेस सांसद डिल्लीराज पन्तको निजी घर प्रदेशसभा सचिवालयबाट करिब एक सय मिटरको दूरीमा भए पनि उनले आवास सुविधा र यातायात खर्च लिएका थिए। विवाद सार्वजनिक भएपछि पत्रकार सम्मेलन गरेर सुविधा फिर्ता गर्ने घोषणा गरेका उनले रकम भने फिर्ता नगरेको जनाएको छ ।
यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको थियो। स्रोतका अनुसार आयोगले गरेको छानबिनका क्रममा सम्बन्धित सांसद बसोबास गर्ने घर उनीहरूको आफ्नै नाममा नभई परिवारका अन्य सदस्यको नाममा रहेको देखिएको थियो। त्यसपछि आयोगले आवास सुविधा भुक्तानी रोक्न निर्देशन दिए पनि अन्य कारबाही अघि नबढाएको प्रदेशसभा सचिवालयका एक कर्मचारीले बताए।
राजधानीमै घर भएका सांसदले परिवारका सदस्यको नाममा रहेको आवासलाई आधार बनाएर सुविधा लिएको विषयले प्रदेशसभा सदस्यको सेवा सुविधासम्बन्धी विवरण र त्यसको प्रमाणीकरण प्रक्रियामाथि प्रश्न उठाएको छ। सचिवालयले फारामका आधारमा सुविधा वितरण भइरहेको दाबी गरे पनि वास्तविक बसोबास र निजी आवासको अवस्थालाई कसरी मूल्यांकन गरिन्छ भन्ने विषय भने अझै स्पष्ट हुन सकेको छैन।